www.tandavnews.com
Fact ~ In search of truth

रुपा गाउँपालिकामा आफ्नै एम्बुलेन्स सेवा सञ्चालन

पोखरा ।

कास्कीको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स मार्फत जनतालाई सेवा दिने भएको छ ।

महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय दुतावासले उपहार स्वरुप गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएपछि गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

Batas

सात वडा रहेको रुपामा यसअघि कोही बिरामी पर्दा अस्पतालसम्म लैजान पोखराबाट एम्बुलेन्स लिन जानुपर्ने बाध्यता रहेको थियो । सांसद खगराज अधिकारीले सो एम्बुलेन्सको साँचो आइतबार गाउँपालिकालाई हस्तान्तरण गरे । गाउँपालिका अध्यक्ष नवराज ओझाले कार्यविधि बनाएर गाउँपालिका आँफैले सहुलिएत दरमा सञ्चालन गर्ने बताए ।

कोरोना संक्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीका अवधिमा समेत गाउँपालिकाले भाडामा लिएर एम्बुलेन्स सेवा निःशुल्क सञ्चालन गरेको थियो । उनले भने,‘लकडाउनका बेला रेडक्रसको एम्बुलेन्स भाडामा लिएर हामीले जनतालाई निःशुल्क सेवा दिएका थियौँ, अब आफ्नै एम्बुलेन्स भएपछि जिल्ला दररेटमा ५० प्रतिशत सहुलियतमा सेवा दिन्छौँ । कोही बिरामी पर्दा एम्बुलेन्सको खोजीामा घण्टौ समय खर्चिनुपर्ने बाध्यता अन्त्य भएको छ ।’

गाउँपालिकाले एक जना विशेषज्ञ चिकित्सक सहित पाँच शय्याको अस्पताल सञ्चानमा ल्याएको छ । चालू आर्थिक वर्षमा सो अस्पतालको स्तरोन्नती गरी १५ शय्यामा विस्तार गर्नका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । रुपाका सात वटै वडामा प्रयोगशाला सहितको स्वास्थ्यचौकीबाट जनतालाई सेवा प्रवाह गरिने लक्ष्य राखिएको छ ।

हाल वडा नं २ र ३ मा स्वास्थ्यचौकी नभएकाले भवन निर्माणाधीन रहेको गाउँपालिकाले जनाएको छ । सांसद अधिकारीले गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालनका लागि संघीय सरकारले सहयोग गर्ने जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.