www.tandavnews.com
Fact ~ In search of truth

दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को

मुगु ।

कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको संख्या बढेको हो । दशैँतिहारको बीचमा आन्तरिक पर्यटकको संख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

कोरोना महामारीले करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक १५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाईमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले जानकारी दिए । ‘विगतमा सुनसान रहेको रारामा अहिले घुम्न आउनेको संख्या बढ्दै गएको छ’ उनले भने, ‘अहिले राराका आसपासका होटेल र गाउँ भरिभराउन हुन थालेका छन् ।’

Batas

निकुञ्जका अनुसार यस वर्षको असोज र कात्तिकमा रारामा झण्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएका छन् । प्राय आन्तरिक पर्यटक मोटरसाइकल, जीप र हवाईमार्गबाट रारा आउने गरेको निमित्त संरक्षण अधिकृत बुढाले जानकारी दिए । रारामा घुम्न आउने पर्यटक बढेका कारण रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने गरेका छन् ।

रारा घुम्नलाई चैत, वैशाख, जेठ, भदौै, असोज र कात्तिक महिना उपयुक्त भएका कारण आन्तरिक पर्यटकको संख्या बढेको मुगु झ्यारिका रमेश रावतले बताए । ‘प्राय पर्यटक हिउँद र वर्षा सकिएपछि रारा घुम्न आउने गरेका छन्’, उनले भने, ‘त्योबाहेक अरू समयमा निकै कम मात्र पर्यटक आउने गरेका छन् ।’

बिदामा रारामा जानेको संख्या बढेपछि कर्णाली राजमार्गमा रहेका होटेलमा पनि चहलपहल बढेको सिञ्जा गोठिज्युलाका होटेल व्यवसायी भक्तबहादुर बुढाले बताए । ‘रारा घुम्न आउने पर्यटकका कारण कर्णाली राजमार्गका होटेल तथा अन्य व्यवसायमा चहलपहलको बढेको छ’, उनले भने, ‘विगतभन्दा यो वर्ष दशैँतिहार बिदामा रारा आउनेको संख्या वृद्धि हुने अनुमान गरिएको छ ।’ रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.