www.tandavnews.com
Fact ~ In search of truth

निरिह महानगर, लाचार वडा अध्यक्ष

सन्तोष अधिकारी
पोखरा,ताण्डव न्यूज ।

गत वैशाख महिनामा पोखरा महानगरपालिकाले एउटा विज्ञ समूह गठन ग¥यो ।

सुन्दर पोखरालाई थप व्यवस्थित र सुन्दर बनाई राख्न । घर निर्माणमा मापदण्ड तयार गर्न विज्ञ समूह गठन गरिएको थियो ।

Batas

पोखरामा केही वर्ष यता नै तीन तलासम्मको मात्र घर बनाउन नक्सापास हुँदै आएको छ । केहीले नक्सापास सम्बन्धी व्यवस्थालाई बेवास्ता गरी धमाधम गगनचुम्बी घर निर्माण गरिरहेका छन् ।

पोखरा महानगरपालिकाले पनि मापदण्डलाई बेवास्ता गरी नक्सापास गरे भन्दा धेरै तला अग्लो घर बनाउने एक इन्जिनियरलाई नै मापदण्ड निर्धारण गर्न गठन भएको विज्ञ समूहको संयोजक बनाएको छ ।

महानगरले प्राध्यापक डाक्टर भरत पहारीलाई विज्ञ समूहको संयोजक बनाएको हो । उनै पहारी महानगरले गरेको नक्सापासलाई बेवास्ता गरी लेकसाइडमा नौतले घर ठड्याइरहेका छन् । उनले आफूलाई फाइदा हुने हिसाबले महानगरपालिकालाई प्रतिवेदन बुझाएका छन् ।

महानगरले गठन गरेको विज्ञ समूहले गत साउनमा नै अध्ययन प्रतिवेदन बुझाएर पोखरामा ४० तले सम्म घर बनाउन सकिने बताएको छ ।

‘हामीले थुप्रो मिहिनेत गरेर, पसिना चुहाएर प्रतिवेदन बनाई महानगरलाई बुझाएका छौँ, विज्ञ समूहका संयोजक पहारीले भने ‘पोखरामा २० तले, ३० तले, ४० तले घर बनाउन सकिन्छ । हामीले कसैको सनकको भरमा अध्ययन गरेर प्रतिवेदन बनाएका होइनौँ । पोखराको थप सुन्दरता कायम राख्न हाम्रो प्रतिवेदनले सहयोग गर्छ ।’

आफुले मापदण्ड विपरित भवन बनाएर त्यसलाई अनुकुल हुने निति सहितको प्रतिबेदन उनले महानगरलाई बुझाएका हुन् । पहारी भने बस्ती विकास ऐन २०७० अनुसार आफूले नौ तले घर निर्माण गरिरहेको बताउँछन् ।

महानगरपालिकाभित्र निर्माण भएका घरहरूले मापदण्ड पूरा नगरेको महानगर स्वीकार्छ । ‘यहाँ मापदण्ड एकातिर छ, काम अर्काेतिर छ,’ पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगाधर सुवेदीले भने, ‘पोखरा महानगरपालिका भित्र घर बनाउन दुई वटा मापदण्ड तयार भएको छ, लेकसाइडमा दुईतलेभन्दा ठूला घर बनाउन नपाइने र अन्य क्षेत्रमा ३५ फिट सम्मको उचाइमा घर बनाउन पाइने । ३५ फिटमा तीन तले घर बनाउन सकिन्छ ।’

दुई तले मात्र घर बनाउन पाइने ड्यामसाइटमा सात तले घर बनिरहेको सूचना महानगरलाई पुगे पनि महानगर केही गर्न सक्ने स्थितिमा छैन ।

लाचार वडा अध्यक्ष

पोखरा महानगरपालिका १७ वडाको ड्यामसाइडमा पनि गगनचुम्बी घर बनिरहेको छ । उक्त गगनचुम्बी घरले महानगरलाई अटेरी गर्दै भवन बनाएको हो ।

यसबारे वडा अध्यक्ष तिर्थराज अधिकारी पनि अनविज्ञ भने छैनन् । उनी सधैँ सोही घरको अघि अघि हिँडिरहन्छन् ।

मापदण्ड विपरित बनेको उक्त भवन बनाउनेलाई उनले केही भन्दैनन् । तर, उक्त भवन मापदण्ड बिपरित रहेको भने उनी स्वीकार्छन् ।

‘भवन त मापदण्ड बिपरित नै बनिरहेको छ,’ वडा अध्यक्ष तीर्थराज अधिकारीले भने, ‘म आफैँ सिधै भत्काउन जान मिलेन महानगरलाई भन्ने हो पत्र लेखेर पनि भनेको छु ।’ उनी उक्त भवन सडक मापदण्ड भित्र पनि पर्र्ने भन्दै पन्छिए ।

महानगरलाई पनि ड्यामसाईड जर्मन बेकरी अगाडी बनेको गगनचुम्बी आठ तले भवनबारे जानकारी भएको महानगरका सूचना अधिकारी सुबेदीले नै स्वीकारे ।

‘ड्यामसाइटमा पनि साततले घर बनिरहेको छ रे’, सुवेदीले भने, ‘पोखराको सुन्दरता नबिगार्न महानगरले चालेको कदमलाई कतैबाट सहयोग भएन ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.