www.tandavnews.com
Fact ~ In search of truth

कोभिड-१९ सङ्क्रमण १३.९ प्रतिशत समुदायमा

शरद शर्मा
काठमाडौँ, रासस ।

कोभिड–१९ को सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३.९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा फैलिएको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

यही असोजमा महाशाखाले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्नका लागि अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरेर ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गरेको थियो । उनले अनुसन्धानमा प्रदेश नं २ र वाग्मती प्रदेशमा सङ्क्रमणको जोखिम बढी भएको देखाएको बताए ।

Batas

उनका अनुसार तराई र पहाडभन्दा हिमालमा सङ्क्रमणको जोखिम त्यति नभएको अध्ययनले देखाएको छ । अध्ययनमा १५ देखि ४५ वर्ष उमेर समूहका मानिसलाई सङ्क्रमण बढी भएको पाइएको छ । बालबालिकाका पनि सङ्क्रमण भएको पाइएको छ । “बालबालिका लक्षण मात्र नदेखिएर सङ्क्रमण नभएको भन्ने थियो”, उनले भने , “बालबालिकालाई भित्रीरुपमा सङ्क्रमण भएको अध्ययनले देखाएको छ ।”

उनले अध्ययनबारे थप मन्त्रालयले जानकारी दिने बताए । महाशाखाले प्रत्येक प्रदेशका ३० वटा वडामा रहेका मानिसको रगतको नमूना सङ्कलन गरेर समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर एन्टिबडी परीक्षण गरेको थियो । एक वडामा १५ जनाको दरले नमूना सङ्कलन गरिएको छ । यसरी प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १७० जनाको नमूना सङ्कलन गरिएको थियो । महाशाखाले पूर्वी रुकुम र रसुवाबाहेक सबै जिल्लामा नमूना परीक्षण गरेको थियो ।

परीक्षणका लागि बालबालिका, बृद्धा, महिला, युवालगायत विभिन्न उमेर समूह र समूहका ट्राभल हिस्ट्री भएका तथा नभएका मानिस तथा सङ्क्रमित भएका र नभएका व्यक्तिको नमूना सङ्कलन गरिएको थियो ।

महाशाखाले सङ्कलन गरेको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण समुदायमा देखिए पनि मन्त्रालयबाट आधिकारिकरुपमा जानकारी नगराएको बताए । उनले ‘सेरो प्रिभिलेन्स’ रिपोर्ट मन्त्रालयमा आएपछि आधिकारिकरुपमा समुदायस्तरमा के छ भन्ने देखाउने बताए ।

फेरि परीक्षण

डा पाण्डेले समुदायस्तरमा देखिएको छ वा छैन भनेर फेरि अर्को परीक्षण गरिने बताए । उनले अहिलेको अध्ययनलाई सबैलाई समेट्न नसकेकाले पुनःएन्टिबडी परीक्षण गरिने बताए ।

“अहिले सङ्क्रमण पनि घटेको छ, किन घट्यो, अर्को कुरा अहिले कोभिड–१९ विरुद्धको खोप ल्याउने भनिएको छ, उक्त खोप कस्तालाई लगाउने हो त्यसको निक्र्यौल गर्नुपर्दछ”, उनले भने , “त्यही भएर पहिलेकोभन्दा व्यापक रुपले एन्टिबडी परीक्षण गरिनेछ ।”

उनले असोज–कात्तिकमा भन्दा जेठ–असारमा गरिएको भए अध्ययन राम्रो हुने धारणा राखे । नेपालमा अहिलेसम्म दुई लाख ४६ हजार ६९४ जनामा सङ्क्रमण देखिएको छ भने दुई लाख ३२ हजार ८७२ निको र एक हजार ६७४ जनाको निधन भइसकेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.