www.tandavnews.com
Fact ~ In search of truth

एन्फा बहुउद्देश्यीय प्राविधिक केन्द्र निर्माण अगाडि बढ्दै

कृष्ण दवाडी
कास्की,रासस ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिँडाबारीमा प्रस्तावित एन्फा बहुउद्देश्यीय प्राविधिक केन्द्रको निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)द्वारा प्रस्तावित प्राविधिक केन्द्रमा फुटबल खेल सिक्ने/सिकाउने तथा खेलाडी उत्पादन गरिनेछन् । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ(फिफा)को ‘टेक्निकल डेभलपमेन्ट’ कार्यक्रम अन्तर्गत दक्षिण एशियामै पहिलोपटक आधुनिक र सुविधासम्पन्न बहुउद्देश्यीय प्राविधिक केन्द्र निर्माण हुन लागेको एन्फा उपाध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिए ।

Batas

एन्फाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा लिएको प्राविधिक केन्द्र निर्माणका लागि पहिलो चरणमा रु २० करोडबाट शुरुआत भइ चौथो चरणसम्म रु ८० करोड लगानी हुने जनाइएको छ । परियोजनाका लागि जग्गा प्राप्ति, आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तथा ढाँचा सम्पन्न भएर बोलपत्र आह्वानको तयारी भइरहेको एन्फाले जनाएको छ ।

एन्फाको गत साता बसेको कार्यसमिति बैठकले केन्द्र निर्माणका लागि पहिलो चरणमा रु २० करोडको बोलपत्र आह्वान गर्ने निर्णय गरेको बताइन्छ । कार्यसमितिको निर्णय अब बस्ने एन्फा साधारणसभामा पेश गरेर अनुमोदनपछि निर्माणका लागि बोलपत्र आह्वान हुनेछ ।  भिँडाबारीको ४५२ रोपनी क्षेत्रफल जमिनमध्ये २५२ रोपनीमा बहुउद्देश्यीय प्राविधिक केन्द्रका संरचना निर्माण हुनेछन् ।

एन्फाका अनुसार प्रस्तावित परियोजनामा दुई अभ्यास मैदान, पाँच हजार दर्शक क्षमताको एक मुख्य मैदान, दुई फुटबल मैदान, एक फुटसल मैदान, कृत्रिम सानो मैदान एक, व्याडमिन्टन कोर्ट, दौड मैदान र बग्दो पानीको पौडी पोखरी निर्माण हुनेछन् ।

यसैगरी भवन संरचनातर्फ पुरुष र महिलाका लागि अलग अलग चार छात्रावास भवन, दुई वटा अभ्यास भवन, तीन वटा पाहुना आवास भवन, कार्यकारी आवास भवन दुई, सुरक्षा गार्ड घर दुई वटा, एक वटा चमेनागृह ब्लक, सात शौचालय, ओपन फुड कोर्ट , टिकट काउन्टर र चिकित्सा केन्दको निर्माण गर्ने योजना छ ।

परियोजनालाई एन्फाले चार चरणमा पूरा गर्ने योजना बनाएको उपाध्यक्ष थापाले जानकारी दिए । पहिलो चरणमा प्रशिक्षण मैदान,पुरुष छात्रावास, अभ्यास ब्लक, कार्यकारी र पाहुना आवास गृह,चारैतिर पर्खाल, लगायतका संरचना निर्माण गरिनेछ जनाइएको छ ।

दोस्रो चरणमा मुख्य मैदान,प्रशासनिक भवन,मेडिकल सेन्टर,महिला आवास गृह निर्माण हुनेछ भने तेस्रो चरणमा अभ्यास मैदान,प्रशिक्षण ब्लक,पौडी पोखरी,टिकट काउन्टर बन्नेछ । फुटसल मैदान,आर्टिफिसियल मिनि पीच,ब्याडमिन्टन कोर्ट,प्यारापिट,पहँच मार्ग,ट्रायक एण्ड फिल्ड लगायतका काम अन्तिम चरणका लागि छुट्याइएको छ ।

“फिफाको आर्थिक सहयोगमा निर्माण हुने टेक्निकल सेन्टर एशियाकै पहिलो कार्यक्रम हो ।खेलाडी उत्पादन गरी फुटबल खेलको विकासका लागि परियोजना महत्वपूर्ण छ ” एन्फा उपाध्यक्ष थापाले भने ।  भिँडाबारीको मर्दी र इदीखोलाकोबीचमा माछापुच्छ्रे हिमालको सुन्दरताले भरिपूर्ण स्थानमा बन्ने भएकाले प्राविधिक केन्द्रले विश्वको ध्यान आकर्षित गर्न सक्ने उनको भनाइ छ ।

प्रस्तावित परियोजनास्थलको फिफा र एशियाली फुटबल महासङ्घका प्राविधिकहरुले यसअघि स्थलगत निरीक्षण गरेर उपयुक्त देखापछि जग्गा व्यवस्थापन लगायका अन्य काम अघि बढाइएको माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।

उहाँका अनुसार फिफाले परियोजना निर्माणका लागि बोलपत्र आह्वान गर्नुअघि मर्दी र इदी नदीमा तटबन्ध गर्न स्थानीय सरकारलाई आग्रह गरेपछि नदी नियन्त्रणका कामका लगि लागत अनुमान गरी रु पाँच करोड ७६ लाख विनियोजन गरी तटबन्धका काम अघि बढाइएको छ ।

“परियोजनाको बोलपत्र आह्वान गर्नुअघि नदी नियन्त्रण अत्यावश्यक भनेपछि स्थानीय सरकारले प्रदेश तथा सङ्घ सरकारको समेत सहयोगमा तटबन्ध गर्ने काम अघि बढाएको छ ” गाउँपालिका अध्यक्ष गुरुङले भने ,“गाउँपालिका सहित प्रदेश तथा समग्र देशको गौरवको परियोजनालाई हरहालतमा सफल बनाउन स्थानीय सरकार प्रतिवद्ध छ ।”

एन्फाले टेक्निकल सेन्टर निर्माण तथा सञ्चालनका लागि वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन माथि शुक्रबार परियोजनास्थलमा सार्वजनिक सुनुवाई कार्यक्रमा आयोजना गरेको थियो।

सो अवसरमा स्थानीयवासीले करोडाैँ बजेटबाट निर्माण हुने एन्फाको परियोजना आफ्नो गाउँमा आउने कुराले खुशी लागेको बताउँदै परियोजनामा रोजगारी लगायतका क्षेत्रमा जग्गादाताहरुलाई प्राथमिकता दिन माग गरे ।

प्रियोजनासँगै सडक, खानेपानी,नदी नियन्त्रण लगायत अन्य विकासका योजनाहरु समेत गाउँमा आउने विश्वासमा रहेकाले स्थानीयबाट सहयोग हुने उनीहरुले विश्वास दिलाएका छन् । उनीहरुले खेलाडी छनोटमा समेत प्रभावित क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे । स्थानीय एकनारायण अधिकारीले ७० जना जति जग्गादाता तथा मोहीहरुलाई सम्मान हुनुपर्ने र मर्दी तथा इदीखोला नियन्त्रणको पहल गर्न आग्रह गरे ।

स्थानीय गोविन्दप्रसाद अधिकारीले एन्फा टेक्निकल सेन्टर बनाउने योजना शुरु गर्नु अघि जग्गाधनीसँग सोधपुछ नभएकाले दुःख लागेपनि विकासका लागि आफूहरुले सहयोग गर्ने र कुनै पनि अवरोध नगर्ने स्पष्ट पारे ।

उहाँले भन्नुभयो,“एन्फाको प्रोजेक्ट आएकामा हामी खुशी छौँ, सँगसँगै स्थानीयको पनि चित्त बुझाउने काम होस्,जग्गा उपलव्ध गराउनेहरुलाई सम्मान होस्।”परियोजनाका लागि अधिकांश सार्वजनिक जग्गा रहेको छ भने केही स्थानीयवासीले आफ्नो स्वामित्वको जमिन समेत उपलव्ध गराएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.