www.tandavnews.com
Fact ~ In search of truth

नयाँ कोरोना फैलिएको डब्लूएचओद्धारा पुष्टि, युवाहरु बढी प्रभावित

पेरिस ।

कोभिड –१९ महामारी नहट्दै फेरि नयाँ कोरोना भाइरसको संक्रमण हुन थालेको छ । युरोपमा नयाँ कोरोना भाइरस फैलिएको छ ।

युरोपका विभिन्न देशमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नयाँ कोरोना भाइरसको संक्रमण हुन थालेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पुष्टि गरेको छ ।

Batas

डब्लूएचओको अनुसार युरोपेली संघअन्तर्गतका ८ देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको हो । नयाँ प्रकारको कोरोना देखिएका ८ देशको पहिचान भएको बताइए पनि देशका नामहरु भने खुलाइएको छैन ।

नयाँ खालको कोरोना भाइरसको संक्रमण युवाहरुमा बढी भएको डब्लूएचओका युरोप क्षेत्रका क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

क्लुगले पछिल्लो अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको जनाएका छन् । नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नुपर्नेमा पनि जोड दिए ।

क्लुगले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुनपानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्नेलगायतका उपायहरूलाई कडाइका साथ लागु गर्न आग्रह गरेका छन ।

यसको गुण, लक्षण, असरलगायतबारे अध्ययन भइरहेको र नतिजा आएर धेरै कुरा प्रस्ट भइसकेपछि मात्रै नयाँ रणनीति तय गर्न सकिने डब्लूएचओको भनाइ छ ।

नयाँ प्रकारको कोरोना बेलायतमा गत साता पहिलोपटक पुष्टि भएको थियो । त्यसलगत्तै बेलायतबाट अन्य देशहरूमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । तर अन्य देशहरूमा पनि फैलिएको पुष्टि भइसकेको छ ।

जापानले बेलायतबाट फर्केका ५ जना नागरिकमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको शुक्रबार जनाएको थियो । त्यसका साथै डेनमार्क, अस्ट्रेलिया र नेदरल्यान्ड्सले पनि नयाँ भाइरस देखिएको यसअघि नै पुष्टि गरिसकेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.