www.tandavnews.com
Fact ~ In search of truth

लकडाउनमा पनि निगमले कमायो १३ अर्ब नाफा

काठमाडौं ।

कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ ।

निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६-७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार १३ अर्ब नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड नाफा कमाएको हो ।

Batas

प्रतिवेदनमा मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दामी बढेपछि निगमको नाफामा वृद्धि भएको हो ।

ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण गत आर्थिक वर्ष २०७६-७७ मा निगमको नाफा बढ्न पुगेको निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको छ ।

कुन वर्ष कति नाफा

लामो समयदेखि घाटामा रहेको निगम पछिल्ला वर्षमा नाफामा गएको हो । निगमले गत आर्थिक वर्ष २०७२-७३ मा १९ अर्ब ३६ करोड, आर्थिक वर्षमा २०७३-७४ मा ९ अर्ब ४५ करोड, २०७४-७५ मा तीन अर्ब ५८ करोड, २०७५-७६ मा ८ अर्ब ७५ करोड र गत आर्थिक वर्ष २०७६-७७ मा १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।

निगमले आर्थिक वष २०७५-७६ मा २९ करोड रहेको चुक्ता पूँजीलाई दश अर्ब पूँजी वृद्धि गरेर एघार अर्ब पु¥याएको थियो । आर्थिक वर्ष ०७५-७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६-७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो । इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ ।

दश महिनाको अवधिमा पाइपलाइनबाट डिजेल ढुवानी गर्दा एक अर्ब ४७ करोड बचत भएको प्रतिवेदनमा उल्लेख छ । साथै गत वर्षको नाफा रकमको बैक ब्याजबाट मात्र रु एक अर्ब ७७ करोड आम्दानी भएको निगमको जनाएको छ । आर्थिक वर्ष २०७०-७१ मा प्रतिलिटर १३४ रहेको पेट्रोलको मूल्य आर्थिक वर्ष ०७६-७७ को असार मासान्तसम्म घटेर एक सय २ मा झरेको थियो । यस्तै सोही अवधिमा एक सय ५ रहेको डिजेलको मूल्य घटेर ८८ मा झरेको थियो ।

निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार इन्धनमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा मूल्य समायोजन गदै आएको छ । निगमले इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्य अनुसार निगमले स्थानीय बजारमा मूल्य सामायोजन गर्ने गरेको छ ।

निगममा सरकारको ९९ प्रतिशत शेयर लगानी रहेको छ । यसमा अर्थ, उद्योग वाणिज्य आपूर्तिमन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको शेयर रहेको छ ।

सरकारलाई सबै भन्दा धेरै राजश्व बुझाउनेमा अग्रस्थानमा रहेको निगमले गत आर्थिक वर्षमा इन्धनको कारोवार गरेर सरकारलाई ६६ अर्ब ८८ करोड राजश्व बझुाएको जनाएको छ । गत वर्ष निगमले दुई खर्ब ५ अर्ब बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कमी हो ।

निगमले उपभोक्ताबाट विभिन्न शीर्षकमा उठाउँदै आएकोमध्ये सडकमर्मत शुल्कबाट पाँच वर्षको अवधिमा चार अर्ब ९९ करोड पुगेको छ । यस्तै प्रदूषण करबाट दुई अर्ब ९४ करोड, पूर्वाधार विकास करबाट १३ अर्ब ९८ करोड जम्मा भएको छ ।

निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार मूल्य सामायोजन गदै आए पनि सीमानाका भन्दा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ । सीमा नाका भन्दा नेपालमा पेट्रोल ३१ रुपैयाँ ८४ पैसा र डिजेल ३७ रुपैयाँ २६ पैसा नाफा रहेको छ । हाल पेट्रोल प्रतिलिटर १०६ र डिजेलको ८९ मूल्य रहेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.