www.tandavnews.com
Fact ~ In search of truth

सबै विद्यार्थी सरकारी विद्यालयमा गएपछि बन्द भयो निजि विद्यालय

पाल्पा,
ताण्डव न्यूज ।

सरकारी विद्यालयको पठनपाठनबाट सन्तुष्ट नभएर निजि विद्यालयमा भर्ना हुने लहर चलेका समाचार नौला होईनन् । तर पाल्पाको एउटा निजि विद्यालय भने सरकारी विद्यालयकै कारण बन्द भएको छ ।

तानसेन नगरपालिका–१३ बौघागुम्हास्थित न्यू आइडल बोर्डिङ स्कुलमा अध्ययनरत ६० जना विद्यार्थी नजिकैको सर्वोदय माध्यमिक विद्यालयमा भर्ना भएपछि उक्त निजी विद्यालय बन्द भएको हो ।

Batas

स्कूलका प्रिन्सिपल दिनेश रानाले दिएको जानकारी अनुसार चालु शैक्षिक सत्रदेखि स्कुल बन्द भएको हो । विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गर्नु परेको रानाले बताए । २०५३ सालमा स्थापना भएको यस बोर्डिङमा नर्सरीदेखि ५ कक्षासम्म पढाइ हुँदै आएको थियो । सो विद्यालयमा ८ जना शिक्षक अध्यापनरत थिए । जागिर गुमाएका शिक्षकहरू अन्य काम गर्न थालेका उनले बताए ।

एक जना शिक्षकले भने सर्वोदय माविमा नै अध्यापन गराउन गएका छन् । यस विद्यालय भवनमा अहिले कुखुरापालन व्यवसाय र होटल सञ्चालन हुँदै आएको छ । सर्वोदयबाट करिब २०० मिटरको दूरीमा न्यू आइडल बोर्डिङ स्कुल थियो । यस बोर्डिङ स्कुलमा गुणस्तरीय पढाइ नभएपछि सबै विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएका स्थानीय अभिभावक प्रेमनाथ घिमिरेले बताए । उनले यस बोर्डिङमा कक्षा २ मा पढ्दै आएकी नातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।

घरदैलो अभियान सञ्चालन गरेर सर्वोदय माध्यमिक विद्यालयमा विद्यार्थी ल्याउन सफल भएको व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर रानाले जानकारी दिए । विद्यालय नै मर्ज गरेर बोर्डिङ स्कुलमा कार्यरत शिक्षकलाई समेत ल्याउने प्रयास असफल भएको थियो । सर्वोदयमा अहिले यस विद्यालयमा करिब २ सय जना विद्यार्थी अध्ययनरत छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.