www.tandavnews.com
Fact ~ In search of truth

बाँकेमा तीन वर्षमा हराए ८०८ महिला तथा बालबालिका

बाँके ।

बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् ।

भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ ।

Batas

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । केन्द्रको तथ्यांकमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ ।

केन्द्रकी प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरका अनुसार आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म ४८१ महिला, २२० बालिका, ९९ बालक र आठ ज्येष्ठ नागरिक हराएको हुँदा उनीहरुको आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दर्ता गराएका छन् । हराएकामध्ये ६८२ महिला तथा बालबालिका घर फर्किसकेका छन् भने १२६ जना अझै फेला पर्न नसकेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक २०७५-७६ मा ३७०, २०७६-७७ मा ३११ र २०७७-७८ मा १२७ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको निवेदन केन्द्रमा दर्ता भएका छन् । तीमध्ये आर्थिक वर्ष २०७५-७६ मा तीन, २०७६-७७ मा ३१ र २०७७-७८ मा ९२ जना हराएका महिला तथा बालबालिका घर फर्किसकेको सहायक निरीक्षक मगरले जानकारी दिए ।

बाँकेमा आर्थिक वर्ष २०७७-७८ मा १२७ महिला तथा बालबालिका हराएका छन् । चालु आर्थिक वर्षको पुस तेस्रो सातासम्म हराउनेमा ८० महिला, ४६ बालबालिका तथा एक जना ज्येष्ठ नागरिक रहेका छन् । तीमध्ये ९२महिला तथा बालबालिका घर फर्किसकेको प्रहरीले जनाएको छ ।

हराएकामध्ये अधिकांश महिला तथा बालबालिका बेचबिखनमा परेको हुन सक्ने अनुमान प्रहरीको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.