पोखरा
सन्तोष सुवेदी (ताण्डव न्यूज)
अरु महिलाको भन्दा उनको दैनिकी पूरै फरक छ । बिहान उठेपछि अरु घरधन्दामा व्यस्त हुन्छन् उनी भने ट्याक्सीको क्यु व्यस्त हुन्छिन् ।
उनी ट्याक्सी चालक हुन् त्यसैले अरु महिला भन्दा फरक छिन् । पुरुष चालकको भीडमा महिला चालक बनेर ट्याक्सी हुइकाउँछिन् । गाडिको स्टेरिङ जति सन्तुलनसँग चलाउँछिन् उनी, घरपरिवारलाई पनि उत्तिकै मिलाउँछिन् पनि । पोखराको सडकमा अन्य चालकले झै गरी ट्याक्सी कुदाउँने चालक हुन् विष्णु कुँवर ।

कहिले तनहुँ त कहिले लम्जुङ, कुश्मा, बाग्लुङ पुग्छिन् । आफूले चाहेको भन्दापनि यात्रुले चाहेको बाटोमा हिँड्नुपर्ने आखिर उनको कर्म नै थियो ।
ट्याक्सी चालकको पेसा रोज्नुपर्ने कारण
न त उनले चालक बन्ने सपना नै बुनेकि थिइन नत कल्पना नै । तर पनि उनलाई लाग्थ्यो, केही नयाँ काम गरौं । नाम कमाउँ, अरुले चिनुन । उनलाई यस्तै–यस्तै सोच्थिन् ।
सभागृहको गल्लीमा दिनभर तरकारी बेच्ने कुँवर एकाएक ट्याक्सी चलाउँदा उनीमा आएको परिवर्तनको तारिफ धैरेले गरे । उनी तरकारी व्यापारबाट उतिसारो कमाइ नदेखेपछि पेसा परिवर्तन गरेकी हुन् । भन्छिन् , ‘दिनभरि तरकारी पसलमा बसिरह्यो, व्यापार पनि नहुने अनि दिक्क लाग्ने । केही नयाँ काम गर्ने सोचेर ट्याक्सी सिक्न थालें ।’
तरकारी बेचेर उनी महिनामा १५÷२० हजार कमाउँथिन् । ‘दिनभरि सडक छेउमा बस्नुपर्ने, कहिले झरी, कहिले घाम, अनि त्यति सोचे जस्तो व्यापार भएन,’ उनी पुराना दिन सम्झिन्, ‘दिक्क लागेर अर्कै काम गर्न मन लाग्न थाल्यो ।’ केही समय फुर्सदै बसेर ड्राइभिङ सिकिन् । लाइसेन्स निकालिन् । अनि बैंकबाट ऋण लिएर ट्याक्सी किनिन् ।
ग १ ज ४३४१ नम्बरको ट्याक्सी उनको आफ्नै हो । अहिले महिनैपिच्छे ४०÷५० हजार कमाउँछिन् । ‘अहिले त बैंकलाई ऋणको किस्ता पनि सकियो,’ खुसी मुद्रामा उनले सुनाइन् ।
पतिबाट सर्पोट
पोखरा मालेपाटन बस्ने कुँवरको विवाह सर्लाही भयो । र पनि उनको बसाई सपरिवारसँगै पोखरा आइन् । विवाहपछिको दैनिकी तरकारी बेचेर बित्थ्यो । उनका पति स्वयं पोखरामा माइक्रो बसका चालक हुन् ।
तर, विष्णुले ट्याक्सी चलाउने इच्छा देखाउँदा सुरुमा उनले नाक खुम्च्याए । विष्णुले कुनै हालतमा ट्याक्सी चलाउने अठोट मनमा लिइसकेकी थिइन् । आफ्नो बाबासँग कुरा राखिन् । उनले एकै बचनमा समर्थन जनाए । बाबुले हुन्छ भनेपछि पतिको पनि मन फर्कियो । त्यसपछि बनिन्, विष्णु कुँवर पोखराकै पहिलो महिला ट्याक्सी चालक ।
महिला चालक हुँदाका समस्या
विष्णुले ट्याक्सी चलाउन थालेको ७ वर्ष पूरा भयो । उनले पोखराका सडकमा ट्याक्सी कुदाउन थालेको यत्रो वर्ष भैसक्दा पनि अहिलेसम्म अरु महिला उनको बाटोमा आएका छैनन् । तर, उनले हिम्मत हारेकी छैनन् ।
सुरु–सुरुमा ट्याक्सी चालक पुरुषले उनलाई जिस्काउँथे रे । ‘टायर पन्चर भएछ भन्थे, म ट्वाल्ल पर्थें,’ उनी सम्झन्छिन्, ‘हिजोआज जिस्काउन छाडेका छन् ।’ केटा मान्छेसँग कुरा मिल्दैन, महिलाहरु पनि यो पेसामा आइदिए हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ । ‘महिलाले पनि पुरुष सरह काम गर्न सक्छन्,’ उनले भनिन, ‘कोही इच्छुक भए म सहयोग गर्थे ।’
कामको सम्मान
उनका एक छोरा र एक छोरी छन् । ट्याक्सी चलाएर छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएकी छन् । ३२ वर्ष वसन्त पार गरेकी कुँवर जिन्दगीमा ठूलो सपना देखेकी भने छैनन् ।
भन्छिन, ‘खुसी र आनन्दको जिन्दगी बाँच्ने सके पुगो ।’ ट्याक्सी चलाएर केही दाम र केही नाम पनि भएकोमा खुशी व्यक्त गरिन् । उनले गरेको हिम्मत र आँटलाई थुपै्र संस्थाले पहिचान गरेर सम्मान पनि गरेका छन् ।
त्यस्ता सम्मान पाउँदा आफूले राम्रै गरेछु भन्ने लाग्छ उनलाई ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.