www.tandavnews.com
Fact ~ In search of truth

धनबहादुर गायकको सिर्जना वर्षौ यादगार रहनेछ :अर्थमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले धनबहादुर गायकको साधना र सिर्जना अमर रहने बताएका छन् । शोक सभालाई सम्बोधन गर्दै अर्थमन्त्री गुरुङले गायकको पार्थिव शरिर आज नरहे पनि गायकलाई साधना र सिर्जनाले अमर बनाइरहने बताएका हुन् ।

उनले आफुले २०३५ ०३६ साल तिर डाँफे कला मन्दिरमा गायकले मादल बजाएको देख्दा नै मन्त्रमुग्ध भएको स्मरण गरे । अर्थमन्त्री गुरुङले पछिल्लो समय भाइरल भन्ने शब्दले सच्चा कलाकार मारमा परेको बताएका छन् । उनले भनेका छन्, ‘भाइरलको पछाडी दौडँदा नेपाली गीतसंगीतको मर्म नै बिर्सिएको आभाष हुन्छ । यसले सच्चा संगीतकर्मीमा असर पुगेको छ । मौलिक संगीतको रक्षाका लागि साधनारत कलाकार नै अब जुट्नुपर्ने बेला आएको छ ।’

Batas

अर्थमन्त्री गुरुङले भाइरल दुई चार दिनको मात्र हुने तर साधना, त्याग र तपस्याले आएको सिर्जना वर्षौ यादगार रहने भनाई राखे । उनले कलाकारको हितका लागि गण्डकी प्रदेशमा रोयल्टी संकलन अभियानलाई पूर्ण रुप दिन आफुले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले धनबहादुर गायकको निधनले समग्र नेपाली संगीत क्षेत्रमा अपुर्णिय क्षति भएको बताए । उनले गायकले नेपाली लोक संगीतमा पु¥याएको योगदानलाई बिर्सन नहुने धारणा राखे ।

पृथ्वीनारायण क्याम्पसमा तत्कालिन समयमा आफु अनेरास्ववियुको नेतृत्व गर्दा आयोजना हुने लोकदोहोरी प्रतियोगिताका कार्यक्रममा धनबहादुर गायकको नियमित उपस्थिति रहने उनले स्मरण गरे । गायकको मादल बजाउने कलाले नै आफुलाई आर्कषित बनाएको उनको भनाई थियो । कलाकारको सिर्जनाको संरक्षणमा प्रदेश सरकारसँग आफुले लबिङ्ग गर्ने प्रतिबद्धता जनाए ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले धन बहादुर गायकका सिर्जनाले समाज रुपान्तरणमा टेवा पु¥याएको औंल्याए । उनले समुन्नत संस्कृतिको आधार भनेकै गीत संगीत भएको उल्लेख गरेका छन् ।

मानिस जन्मदा लिएर आउने एउटै सत्य मृत्यु भएको बताउँदै धनबहादुर गायकका अजम्बरी सिर्जनाको संरक्षणमा सबैले ध्यान पुर्याउन आग्रह उनको छ ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले स्वर्गीय धनबहादुर गायक पोखराकै पहिचान भएको बताएका छन् । उनले भनेका छन्,‘स्वर्गीय धनबहादुर गायक सिङ्गो पोखराकै पहिचान हुन् ।

सालिनता, सिष्टता र निरन्तर लगावका कारण नै उनको गरिमालाई बढाएको छ ।’ उनले धनबहादुर गायकको देहावासनले साराङ्गी र मादल जस्तो लोकबाजा बजाउने एक सच्चा अभिभावक गुमेको बताएका छन् ।उनले परिवारका साथमा हर हमेशा कांगे्रस कास्की रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा भूमी व्यवस्था सम्बन्धि आयोगका संयोजक दामोदर वैरागीले धनबहादुर गायक परिस्थिति अनुसार सिर्जनालाई प्रस्तुत गर्न सक्ने कलाकार भएको बताए । नेपालमा बोल्ने तर नगर्ने समस्या भएको बताउँदै उनले कलाकारका सिर्जना र सांस्कृतिक महत्वका विषयलाई जोगाईराख्न सरकारले नीतिगत रुपमा निर्णय गर्नुपर्ने उल्लेख गरे । उनले सालीक बनाउनु मात्र ठूलो कुरा नभई संरक्ष्ण गर्नु ठूलो कुरा भएको प्रति जोड दिएका छन् । स्रष्टालाई अधुरो सम्मान गर्न नहुने जिकिर उनको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष वर्तमान संरक्षक प्राज्ञ प्रजापती पराजुलीले धनबहादुर गायकसँग आफ्नो भेट २०३७ सालमा भएको बताए । २०४१ सालसम्म सँगै दोहोरी प्रतियोगिताका कार्यक्रममा सहभागी भएको बताउँदै २०४२ सालमा “पोखरामा क्या राम्रो फेवाताल” गीतमा गायकले मादल बजाएको स्मरण गरे । उनले राज्यले कलाकारलाई सम्पत्तिको रुपमा अनुसरण गरे कलाकारको हकअधिकार वञ्चित हन नहुने धारणा राखे । उनले राजनीतिक दलहरुले प्रतिष्ठान सँग संस्था चलाउन सिक्नुपर्ने बताएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीले आफु स्याङजा देखि पोखरा आएर संघर्ष गर्दा अभिभावकको रुपमा धनबहादुर गायक पाएको स्मरण गरे । गायकका सिर्जना संरक्षणमा प्रतिष्ठान कटिबद्ध भएर लाग्नेमा विश्वस्त रहन आग्रह गरेका छन् ।

स्व. धनबहादुर गायक ‘नरोउ मायालु….’, ‘बेली र चमेली…’, ‘फुल मायामा नभुल..’ लगायतका गीतका सर्जक हुन् ।गायकको हिजो (बुधबार) राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा शोक सभा सम्पन्न भएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.