www.tandavnews.com
Fact ~ In search of truth

पोखराका सामुदायिक रेडियोहरुले मनाए विश्व रेडियो दिवस

जीवन सुवेदी
पाेखरा, ताण्डव न्यूज ।

दशौँ विश्व रेडियो दिवसको अवसरमा पोखरामा रहेका सामुदायिक रेडियोहरुले पनि शुभकामना आदान प्रदान तथा सहयोग हस्तान्तरण कार्यक्रम गरेका छन् ।

पोखरामा रहेका सामुदायिक रेडियोहरुको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि एवं सामुदाकि रेडियो प्रसारक संघ (अकोराव) का कार्यसमिति सदस्य गणेशकुमार श्रेष्ठले गण्डकी प्रदेशमा रेडियो सम्बन्धि स्पष्ट नीति बन्न नसक्दा रेडियोहरुले राज्यबाट पाउनुपर्ने सेवा सुविधा पाउन कठिनाई भएको बताए । पोखराको थ्रि एन्जल्स नेपालका मिडिया एण्ड मार्केटिङ डाईरेक्टर समेत रहेको श्रेष्ठले सरकारी विज्ञापनहरु पहुँच र शक्तिको भरमा नभई न्यायोचित वितरण हुनुपर्नेमा जोड दिए । व्यवसायिक रेडियो र सामुदायिक रेडियोको बजारको दायरा फरक भएको भन्दै सरकारले सामुदायिक रेडियोलाई विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो । रेडियोलाई पनि अब परिस्कृत बनाउँदै नयाँ मिडियासंग प्रतिष्पर्धात्मक बनाउन आवस्यक रहेको उनले बताए ।

Batas

कार्यक्रममा बोल्दै रेडियो सराङकोटका प्रमुख कार्यकारी निर्देशक कृष्ण थापाले सामुदायिक रेडियोहरुको विकाशमा राज्यले ध्यान दिन नसकेको गुनासो गरे । उनले आगामी दिनमा रेडियोलाई अझ शशक्त बनाउनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा अर्घाखाँचीको मालारानी रेडियोका स्टेशन म्यानेजर नविन केसीलाई उपचारका लागि २९ हजार रुपयाँ प्रदान गर्ने घोषणा गरिएको छ । पोखरामा रहेका ९ वटा सामुदायिक रेडिया मध्ये ८ वटा बाट २४ हजार थ्रि एन्जल्स रेडियोबाट रु ५ हजार गरी उक्त रकम सहयोग गरिने भएको हो । केसीलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुनुपरेको र उपचारमा सहयोग पुगोस भनेर उक्त रकम सहयोग गरिएको अकोराब गण्डकी प्रदेशका संयोजक एवं कार्यक्रमका सभाध्यक्ष मोतिसागर अधिकारीले जानकारी दिए ।

स्पेनको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०११ देखि हरेक फेब्रुअरी १३ तारिकका दिन रेडियो दिवस मनाउन थालिएको हो ।

सबैभन्दा प्रभावकारी सञ्चारमाध्यमका रुपमा रहेको रेडियो आमनागरिकका लागि सर्भसुलभ, कम खर्चिलो तथा सर्वव्यापी पनि छ । प्रविधिको विकाससँगै रेडियोको व्यापकता खुम्चिँदै गएको भए पनि दुरदराजका लाखौँ नेपालीजनको निर्विकल्प सञ्चारको माध्यम हो रेडियो । नेपालको पहिलो रेडियो २००७ चैत २० गते प्रसारण प्रारम्भ गरेको ‘रेडियो नेपाल’ लाई मान्ने गरिन्छ तर अन्तर्राष्ट्रियजगत्मा त्यसको ३० वर्षअघि नै रेडियो खुलिसकेको थियो ।

रेडियोका आविष्कारका इटालीका वैज्ञानिक जी. मार्कोनी हुन् । मार्कोनीले सन् १८९५ मा रेडियो तरङ्ग पत्ता लगाएको जानकारहरु बताउँछन् । त्यसको २४ वर्षपछि मात्रै रेडियोको व्यावहारिकरुपमा प्रसारण शुरु गरिएको थियो । सन् १९१९ को अक्टोबरमा अमेरिकाको पिट्सवर्ग शहरमा वासिन्टन हाउस कम्पनीले पहिलो व्यावहारिक रेडियो खोलेको बताइन्छ । विश्वमा औपचारिकरुपमा रेडियो प्रसारण अमेरिकाको पेन्सलभेनिया शहरबाट सन् १९२० मा भएको थियो । त्यही दशकमा अमेरिका र बेलायतमा रेडियोहरु व्यापकरुपमा खुल्न थाल्यो ।

इतिहासकारहरुका अनुसार रेडियो प्रसारणसम्बन्धी विद्युत्–चुम्बकीय तरङ्गको सिद्धान्त सन् १८६० मा प्रतिपादन भएको हो । यद्यपि त्यसलाई व्यवहारत प्रमाणित गर्न निकै लामो समय कुर्नु प¥यो । आवाजलाई विना तार पनि प्रसारण गर्न सकिन्छ भन्ने सिद्घान्त सन् १८९५ मा मार्कोनीले प्रमाणित गरे । त्यसपछि औपचारिकरुपमा रेडियोको आविष्कार भएको मानिन्छ । त्यसको छ वर्षपछि सन् १९०१ मा माकोर्नीले ध्वनि सङ्केतलाई दुई हजार १०० माइल टाढासम्म सुन्ने बनाएपछि रेडियो प्रविधि विश्वमा फैलिएको होे ।

त्यस्तै सन् १९२२ मा ब्रिटिस ब्रोडकास्टिङ कम्पनीको स्थापना भयो जुन सन् १९२७ मा आएर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेशनमा परिणत भयो । मार्कोनीले रेडियोको आविष्कार जुनसुकै उद्देश्यका साथ गरेका भए पनि समाज विकास, परिवर्तन र रुपान्तरणमा रेडियोको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको पाइन्छ । नेपालमा २००७ सालपछि मात्रै औपचारिकरुपमा रेडियो खुलेको बताइन्छ ।

विसं २०५४ कात्तिक ३० मा नेपालमा पनि पहिलोपटक एफएम रेडियो, एफएम काठमाण्डु रेडियो नेपालले नै भित्र्यायो । पछि २०५४ देखि निजी क्षेत्रले समेत एफएम रेडियोहरु सञ्चालन गर्न पाउने कानून बनेपछि २०५४ साल जेठ ९ गते दक्षिण एशियामै पहिलो निजी क्षेत्रको स्वतन्त्र रेडियोका रुपमा रेडियो सगरमाथाले प्रसारण प्रारम्भ ग¥यो । त्यसपछि देशका विभिन्न स्थानमा खोलिएका रेडियोको सङ्ख्या हजारौँ पुगिसकेको छ । रेडियोकर्मीहरुको सङ्ख्यासमेत पाँच हजार नाघिसकेको बताइन्छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.