www.tandavnews.com
Fact ~ In search of truth

दुई लाख ५० हजार लाइसेन्स छाप्न बाँकी

काठमाडौं ।

यातायात व्यवस्था विभागले झण्डै दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी रहेको छ । अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेका र नवीकरण गरेर उक्त संख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएको हो ।

देशभरका यातायात व्यवस्था कार्यालयबाट एकै पटक धेरै संख्यामा नयाँ अनुमतिपत्रका लागि आवेदन दिएकाले यो संख्या अहिले ह्वात्तै बढेको विभागका सूचना प्रविधि निर्देशक पवित्र डङ्गोलले बताए ।

Batas

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी गरेसँगै यातायात कार्यालयहरुले सेवा दिएका थिएनन् । गत असारमा कार्यालय खुले पनि बन्दाबन्दी पूरै नखुलेकाले त्यो समयमा धेरै सेवाग्राही कार्यालय जान सकेका थिएनन् ।

सो अवधिमा नवीकरणका लागि केही समय थपिएको उनले बताए । कार्यालयहरुले गत पुस २९ देखि नवीकरण पुनः सञ्चालन गरेपछि एकै पटक धेरै अनुमतिपत्र छाप्नुपर्ने भएको उनले बताए। उनले भने, ‘नयाँ र नवीकरण छाप्नुपर्ने धेरै छ ।’

विगत वर्षहरुमा धेरै संख्यामा अनुमतिपत्र छाप्न बाँकी भए पनि गत वर्ष विभागले बाँकी रहेका सबै अनुमतिपत्र छापिसकेको थियो । बन्दाबन्दीको अवधिमा एक दिनमा तीन चरण गरेर छपाइ गरिएको सूचना प्रविधि निर्देशक डङ्गोलले बताए । विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्म २० लाख १९ हजारभन्दा बढी छपाइ भइसकेको छ ।

विभागले अहिले अनलाइन माध्यमबाट मात्रै फारम लिइरहेको उनले बताए । सेवाग्राहीले जुनसुकै स्थान र समयमा फारम भर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए । गत पुसमा सेवा पुनः शुरु गर्दा विभागले निश्चित समयमा मात्रै फारम भर्न सक्ने व्यवस्था गरेको थियो ।

एकै पटक धेरैले अहिले भर्न खोज्दा समस्या आएपछि जुनसुकै समयमा खुल्ला गरिएको हो । उनले भने, ‘लामो समय रोकिएको सेवा एकै पटक खोल्दा पहिले पहिले चौबिस घण्टा हुँदा पनि समस्या थियो, अहिले त्यो हटिसकेको छ ।’

नयाँ अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीमध्ये झण्डै ३० प्रतिशत पास हुने गरेको पाइएको छ । अहिले पनि साढे चार लाखले भरेकामा तीमध्ये आधाभन्दा कम मात्रै पास हुने अनुमान गरिएको छ । विभागमा छाप्नुपर्ने आवेदन बढिरहँदा छपाइ भने हुन सकिरहेको छैन ।

सरकारले १४ लाख कार्ड छपाइका लागि प्रक्रिया अघि बढाएको छ । त्यो आइनपुगेकाले अत्यावश्यक अनुमतिपत्र मात्रै छापिरहेको हो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.