www.tandavnews.com
Fact ~ In search of truth

मनाङः बाढी पीडित तालबासीलाई राखेप सदस्य गुरुङको सहयोग

पीडितको प्रश्न­­: प्रदेश सरकार खोई ?

अर्जुन गाहा (सुशान्त)

मनाङ/ताण्डव न्यूज ।

अविरल वर्षाका कारण डुवानमा परेको मनाङको नासोँ गाउँपालिका १ तालबासीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङको नृतृत्वमा विभिन्न सामाग्री सहयोग गरिएको छ ।

Batas

बाढीबाट प्रभावित बनेको ६५ घरधुरीलाई हेलीकप्टरमार्फत तालबस्तीमा पुगी आज (सोमबार) राखेप सदस्य गुरुङले खाद्यान्नका सामाग्री तथा लत्ताकपडा, मेडिकल तथा औषधिजन्य सामाग्री तथा उद्धारका लागि आवश्यक औजारहरु सहयोग गरेका हुन् ।

खेलकुद संस्था तथा विभिन्न व्यक्ति र अग्रजहरुबाट संकलित सहयोग गुरुङको नेतृत्वमा स्थानिय आमा समुह, क्बल तथा वडा अध्यक्ष झलक बहादुर गुरुङलाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै राखेप सदस्य गुरुङले बाढीले वितण्डा मच्चाएको समयमा विना स्वार्थ सहयोग गरेको बताए ।

‘अहिले तत्काल आवश्यक पर्ने खालका सामानहरु औषधिहरु, म्याट तथा कम्बलहरु र खाद्यान्नका सामाग्रीहरु ल्याएका छौ, गुरुङले भने, ‘हामीले उद्धारका लागि आवश्यक पर्ने रेनकोट, डोरीहरु, बेल्चा तथा गैतीहरु पनि ल्याएका छाै ।’

उनले कुनै पनि राजनैतिक गन्ध नआउने गरी सामाजिक सद्भाव कायम गर्न गरि सहयोग गर्दै आएको बताए । उनले अझै पनि उक्त क्षेत्र जोखिममै रहेको बताउदै थुनिएको क्षेत्रलाई सरकारसँग समन्वय गरेर व्यवास्थापन गर्नुपर्ने समेत बताएका थिए ।

गुरुङको नेतृत्वमा राहात लिएर पुगेको सो टोलीले बिरामीको उद्धार समेत गरेको थियो । तालगाउँका जीतमाया गुरुङ, राम घले, अनिशा घले, सुमी घले र तिल बहादुर गुरुङ गरि ५ जनालाई हेलीकप्टर मार्फत उद्धार गरि पोखरा ल्याएको थियो । हेलीकप्टर चार्टरका लागि सिम्रीक एयरका प्रबन्धक निर्देशक राजुबाबु श्रेष्ठले केही सहयोग गरेका थिए ।

खाद्यान्न अभाव हुने चिन्ता

सहयोग सामाग्री ग्रहण गरेपश्चात बोल्दै नासोँ गाउँपालिका १ का वडा अध्यक्ष झलक बहादुर गुरुङले खाद्यान्नको अभाव हुने चिन्ता रहेको बताए । उनले सो बाढीबाट करिब ६५ घरधुरी प्रभावित बनेको बताउदै मानवीय क्षती नभएको बताए । उनका अनुसार ३ सय बढि जनसँख्या रहेको सो गाउँमा पछिल्लो समय १ सय ८० जना रहेको छ । निजी तथा सरकारी निकायबाट संकलित राहातले करिब १ महिना मात्रै थेग्न सक्ने बताउदै त्यसपछिको विकल्प खोज्नुपर्ने उल्लेख गरे ।

‘अहिले सबैलाई खाद्यान्नको सामाग्री वितरण गर्नुभन्दा मेस चलाएर व्यवस्थापन गरेका छौ, अध्यक्ष गुरुङले भने, स्थान हेरेर १ सय ८० जनालाई ८ वटा मेस चलाएर दैनिकी गुजारा गरेका छौ ।’

उनले लम्जुङको बेसीशहरदेखिको सडकखण्ड पूर्ण रुपमा अवरुद्ध रहेको बताउदै हेलीकप्टरबाटै मात्र राहात ल्याउने भएकाले यथेष्ट राहात उक्र ठाउँमा पुग्न नसकेको तर्क राखे ।

सडक खुलाउन मिस्त्रीको अभाव

लम्जुङको सदरमुकाम बेसीशहरदेखि ४० किलोमिटर बढिको दुरीमा रहेको ताल गाउँमा पुग्नको लागि पूर्ण रुपमा सडक अवरुद्ध छ । सो क्षेत्रको सडक स्तरोन्नती र बिस्तार गर्ने जेसीबीहरु समेत बाढीमा परेको छ । स्थानिय तथा आखेकुदु कन्सट्रक्सन एण्ड ईक्युईप्मेन्ट प्रालिका सञ्चालक आन्द्रे गुरुङले सो क्षेत्रमा आधा दर्जन जेसीबी र टिप्परहरु डुवेको बताए ।

गुरुङले जेसीबी सञ्चालन गर्न सकेको खण्डमा डुवानमा परेको बस्तीका ग्रेगर तथा वालुवाहरु हटाउन सक्ने बताउदै मिस्त्रीको व्यवस्था गर्नुपर्ने बताए । ‘सर्भिसिङको सामान बेसीशहरमा रोकिएछ । मेसिनको मिस्त्री र त्यो सामान ल्याउन पाए बाटोहरु खोलिन्थ्यो, उनले भने, ‘यहाँ थुप्रिएको मुढाहरु वालुवाहरु सबै हटाउन पाईन्थ्यो । सफा गर्न हुन्थ्यो धेरै राहात हुन्थ्यो ।’

पीडितको प्रश्न– प्रदेश सरकार खोई ?

नेताले आपत–विपदमा हेर्छन भन्ने आशाले चुनावमा भोट दिएकी एकल महिला कान्छी गुरुङ सहित तालबासी सो क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य चिन्त बहादुर घले र प्रदेश सरकारसँग रुष्ट छन् । उक्त क्षेत्रबाट नेपाली कांग्रेसको तर्फबाट चिन्त बहादुर घलेले चुनाव जितेका थिए ।

उनको पार्टी यतिबेला गण्डकी प्रदेशको सरकारमा समेत रहेको । त्यसैले सो क्षेत्रको बासिन्दाको प्रश्न छ, प्रदेश सरकार खोई ? कान्छी गुरुङले भनिन्, ‘जनतालाई हेर्न आउन पर्याेनी । जनताले नचुनेर त्यसै कुर्चीमा बस्न पाएको त होईननी । किन हेर्न आएन ? जनता यती डुवानमा परेको छ ।’

त्यस्तै तालगाउँका स्थानिय सोनी गुरुङले पनि प्रदेश सरकार र आफ्नो क्षेत्रबाट निर्वाचित प्रदेश साँसद चिन्त बहादुर घलेले ढोका थुनेर बसेको गुनासो पोखिन । ‘प्रदेश सरकारले हामीलाई कुनै सुरक्षित ठाउँमा लान पर्याे । हामी यही जोखिममै छौ । प्रदेश सरकार हेर्न आउन पर्ने होनी । किन आएन ­? उनले प्रश्न गरिन्, ‘के कारणले आएन ­? निजी हेलीकप्टर आउन सक्ने ठाउँमा प्रदेश सरकार किन आउन सकेन? के प्रदेश सरकार ढोका बन्द गरेरै बस्या हो त ?

गुरुङले केन्द्रिय सरकाबाट राहात आएको बताउदै प्रदेशको तर्फबाट कुनै पहल नभएको दोहोर्याए । उनले उक्त क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित चिन्त बहादुर घलेपनि सम्पर्क विहिन रहेको गुनासो गरिन् । ‘उहाँ झन सुतेर बस्नुभाछ निन्द्रामा हुनुहुन्छ, उनले भनिन्, मानवीय क्षती नभएपनि करोडौ धनजनको क्षति भएको छनि । सम्पत्तिको नाममा भएको एउटा घरपनि बगायो ।’

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले यसअघि सो बस्तीमा अवरुद्ध रहेको विद्युतसेवालाई समेत सुचारु गर्न सहयोग गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.