www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधि सभा विघटन सम्बन्धमा परेका रिटमाथि आजदेखि निरन्तर सुनुवाइ हुने

काठमाण्डौँ
ताण्डव न्यूज ।

प्रतिनिधि सभा विघटन सम्बन्धमा परेका रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित १४६ जना सांसदले दिएको रिटमा सबैभन्दा पहिला सुनुवाइ हुनेछ ।

जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै चुनाव घोषणा गरेका थिए । राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन रहेको भन्दै १४९ जना सांसदले शितल निवासमा हस्ताक्षर बुझाएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एमाले संसदीय दल र जनता समाजवादी पार्टीको संसदीय दलले आफूलाई प्रधानमन्त्रीमा समर्थन गरेको पत्र शितल निवासमा बुझाएका छन् ।

Batas

१४९ जना सांसदले हस्ताक्षर बुझाउँदा पनि देउवालाई प्रधानमन्त्री नियुक्त नगरेकोलगायत विषयमा सर्वोच्चमा ३० रिट परेका थिए । सर्वोच्चले ती सबै रिटको संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरेको छ । तीमध्ये सबैभन्दा पहिला देउवाको रिटमा सुनुवाइ हुने र त्यसपछि मात्रै अन्य २९ रिटमाथि सुनुवाइ हुने सर्वोच्चले यसअघि नै जनाइसकेको छ ।

पहिलो दिनको सुनुवाइमा देउवा पक्षले आफ्नो तर्फबाट दुई जना अधिवक्ता र तीन जना वरिष्ठ अधिवक्ताले बहस गर्ने भन्दै सर्वोच्च अदालत प्रशासनलाई सूचना दिएको छ । सर्वोच्च स्रोतका अनुसार आज चार घन्टाको समयमा अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दी तथा वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादवले बहस गर्नेछन् ।

सर्वोच्च प्रशासनलाई बुझाइएको सूचनामा पाँच जना वकिलको बोल्ने समयसमेत छुट्टयाइएको छ । नेपाल बार एसोसिएसनका पूर्वमहासचिवसमेत रहेका अधिवक्ता खातीले २० मिनेट बहस गर्नुहुनेछ । त्यसपछि अधिवक्ता बन्दी र वरिष्ठ अधिवक्ता यादवले ४०–४० मिनेट बहस गर्ने छन् ।

त्यस्तै, वरिष्ठ अधिवक्ता कार्कीलाई एक घन्टा र थापालाई डेढ घन्टा समय छुट्टयाइएको छ । सुनुवाइको दोस्रो दिन बिहीबार वरिष्ठ अधिवक्ता हरिहर दाहाल र रमण श्रेष्ठले एक–एक घन्टा बोल्ने छन् । सर्वोच्च अदालतले नै रिट निवेदक पक्षलाई सुरूमा १२ घन्टा र पछि जवाफी बहसका लागि ३ घन्टा गरी १५ घन्टा समय व्यवस्थापन गरिदिएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.