www.tandavnews.com
Fact ~ In search of truth

भारतमा संक्रमण घट्दो, तर विज्ञहरु भन्छन् : यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ

भारत ।

भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन् ।

पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा संक्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ । यसरी खुकुलो बनाएपछि नागरिकहरु सडकमा निस्किन थालेका छन् ।

Batas

उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन् । जसका कारण फेरि भारतमा अर्को खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन् ।

बुधबार बिहान मात्र भारतमा ५० हजार ८४८ जना नयाँ संक्रमित थपिएका छन् । गएको २४ घन्टामा त्यहाँ बुधबार मात्र ती संक्रमित थपिएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो । यो समेत गरी भारतमा अहिलेसम्ममा कम्तीमा पनि ३ करोड संक्रमित्र पुगेका हुन् । यहाँ ३ करोड २८ हजार ७०९ जना संक्रमित पुगेका हुन् ।

त्यस्तै यहाँ यो संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पनि झण्डै चार लाखको नजिक पुग्दैछ । भारतमा कोरोना भाइरसका संक्रमितहरुमध्ये ३ लाख ९० हजार ६६० जनाको ज्यान गएको छ ।

यहाँ केही समय अघिसम्म हरेक दिन २ हजार भन्दा पनि बढी संक्रमितहरुको ज्यान जाने गरेको थियो । तर अहिले सो अवस्थामा पनि कमी आएको छ । यहाँ अहिले मृत्यु हुनेको संख्या पनि उल्लेख्य मात्रामा घट्दै गएको देखिएको छ ।

पछिल्लो समयमा निको हुने दरमा पनि बृद्धि भएको छ । भारतमा पछिल्ला हप्ताहरुमा संक्रमितहरुको निको हुने दरमा बृद्धि भएर ९६.५६ प्रतिशत पुगेको छ ।

यो अवस्थाले यहाँको केन्द्र सरकार तथा राज्य तथा स्थानीय सरकारहरुलाई पनि शान्तिको सास फेर्न त दिएको छ तर पनि यो अवस्था भनेको महामारी सबै घटेको तथा सबै संक्रमितहरु नै निको भएको अवस्था भने नभएको विज्ञहरुले चेतावानी दिएका छन् ।

उनीहरुले भनेका छन् कि– यसरी पछिल्ला दिनहरुमा सङ्क्रमितहरु घट्दै जाँदा अब सबै ठिक भयो भनेर सरकारहरुले प्रतिबन्धहरु सबै फुकुवा गर्ने र नागरिकहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु पालना नै नगर्नु भने मुर्खता हुनेछ, यसले अर्को संकटलाई निम्ता दिन सक्छ ।

यसको मतलब भारत हाल जारी नै रहेको यो दोस्रो लहर कति खतरनाक थियो, कति जना मानिसले सास फेर्न नपाएर अर्थात् अक्सिजन नै नभएर मृत्युवरण गर्नुप¥यो, चिकित्सकहरुले पनि कसरी आफैले र विरामीका लागि अक्सिजनको मात्रा आपूर्ति गर्न पाएनन् भन्ने कुरा भने सबैलाई छर्लङ्गै थाहा छ ।

अक्सिजन मात्र होइन कि आवश्यक औषधीहरु, अस्पतालका शय्या तथा अरु आवश्यक पूर्वाधारका लागि अस्पतालको उपलब्धता नै हुन नसकेको अवस्था पनि सबैलाई र खासगरी नीति निर्माताहरुलाई पनि थाहा नै छ ।

यो अवस्था आफूहरुले देखेकै भएकाले पनि अब आउन सक्ने सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर हाल विज्ञहरुले गरेका अनुरोधहरुलाई खासमा यहाँको सरकारका प्रतिनिधि र नीति निर्माताहरुले बेवास्ता गरेको बताएका छन् ।

स्वास्थ्य विज्ञहरुले यस्तो चेतावनी दिँदा दिँदै पनि सरकारले विगतमा विभिन्न राज्यमा निर्वाचन गर्ने, कुम्भ मेलाजस्तो आममानिसहरु जम्मा हुने कार्यक्रमलाई अनुमति दिने गरेकाले यो दोस्रो लहरको लागि बल पु¥याएको र अहिले पनि अब केही समयमै सरकारले यस्ता क्रियाकलापहरुलाई अनुमति दिनसक्ने भन्दै त्यसको विरोध गरिरहेका छन् ।

सतर्कताका लागि आग्रह

यता संक्रमित घटेका समाचारहरु आउन थालेदेखि नै पछिल्लो समयमा त्यहाँका केन्द्रीय तथा स्थानीय सरकारहरुले प्रतिबन्ध हटाउने काममा उदार भएका छन् । जसकाकारण यहाँका रेलमार्ग, होटल रेष्टुरेन्ट, सपिङमलहरु आदिमा ठूलो भिडभाड लाग्न थालेको छ ।

नयाँ दिल्लीको रेल स्टेसनमा पनि हालैका दिनमा हजारौँ जनाको भिडभाड नै देखिन थालेको छ । सपिङमलहरुको अवस्था त्यस्तै छ । यो देखेर पनि यहाँका जनस्वास्थ्य विज्ञहरुले अर्को लहरको सम्भावना झन् नजिकिँदै गरेको भनेर चेतावनी दिएका छन् ।

दिल्लीको उच्च अदालतले गत हप्ता मात्र पछिल्लो समयमा देखिएको यस्तै भिडभाडपछि जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराउन सरकारका नाममा आदेश दिएको छ ।

सो अदालतले जनस्वास्थ्य विज्ञहरुले हाल देखाइरहेको सम्भावित तेस्रो लहरलाई रोक्नका लागि स्वास्थ्यका मापदण्डहरु पालना गराउने नै एकमात्र विकल्प देखिएको भन्दै सरकारका नाममा यो आदेश जारी गरेको थियो । यदि यी मापदण्डहरु पालना गराउन सकिएन भने मानिसहरुकै कारण हामी धेरै ठूलो समस्यामा पर्नेछौँ पनि भनेको छ ।

अहिले त दिल्लीमा पनि व्यापार व्यवसाय खुलेको छ । जसका कारण ठूलो जनसङ्ख्या रहेको भारतका नागरिकहरुको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । यो देखेर यहाँका चिकित्सकहरुले त भारतले दोस्रो भन्दा पनि तेस्रो लहरमा झन् ठूलो समस्या भोग्नुपर्ने अवस्था आउने बताइरहेका छन् । उनीहरुले मानिसहरुको बढ्दो जमघट नै ठूलो समस्या भएर आउने चेतावनी दिएका छन् ।

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स् (एआइएमएस) का निर्देशक रन्दिप गुलरियाले गत हप्ता भनेका थिए– भारतमा कोभिड १९ को तेस्रो लहर आगामी छदेखि आठ हप्तासम्ममा आउन सक्छ र यो दोस्रो लहरजत्तिकै र अझ त्यो भन्दा पनि बढी हुनसक्छ ।

उनले गतहप्ता मात्र भनेका थिए– तेस्रो लहर आगामी छदेखि आठ हप्तासम्ममा आउन सक्छ र सामान्यतया त्यो भन्दा थोरै ढिला हुन पनि सक्छ । तर त्यसको आगमन भने हामीले अब गर्ने व्यवहार र आगामी दिनमा गरिने जनस्वास्थ्यका मापदण्डहरुको पालनाले पनि निर्धारण गर्नेछ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.