www.tandavnews.com
Fact ~ In search of truth

कामपाद्धारा पूर्वाधारका लागि दश अर्ब बजेट

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा १० अर्ब ८० करोड बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार नगरसभाको नवौँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

समग्रमा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट प्रस्ताव गरेको छ । प्रस्तुत बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ एक अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

Batas

त्यसैगरी आगामी आर्थि वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत शुल्क ब्यहोर्ने प्रस्तुत बजेटमा भनिएको छ । यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ । सम्पत्ति करमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

कामपाको क्षेत्रभित्र होटेल, रेष्टुरेन्ट, पसल जस्ता व्यवसायले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागिसमेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने पनि घोषणा गरिएको छ । कामपाको यही असार ६ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । चालु आवका लागि कामपाले १५ अर्ब ५० करोडको बजेट ल्याएको थियो ।

चालु आर्थिक वर्षमा जस्तै आगामी आवमा पनि कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रर्वद्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।

‘मेयर उज्यालो कार्यक्रमअन्तर्गत कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमूना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायत सेवा सुविधालाई पनि बजेटमा समावेश गरिएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.