www.tandavnews.com
Fact ~ In search of truth

चितवनः २४३ जनामा डेंगु

चितवन ।

चितवन जिल्लामा चालु आर्थिक वर्षमा २४३ जनामा डेंगुकाे लक्षण देखिएको छ । स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको सरोकार पक्षका बैठकमा अगामी साउन महिना शुरु भएसँगै संक्रमण बढ्न सक्ने जनाउँदै उच्च सावधानी अपनाउन आग्रह गरिएको थियो ।

सो अवसरमा कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष एक हजार ७१७ जनाको डेंगु परीक्षण गरिएको जानकारी दिए । गत आर्थिक वर्षमा १९ हजार २३० जनाको परीक्षण गर्दा चार हजार ८०३ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा एक हजार ९५१ जनाको परीक्षण गर्दा ३१ र आर्थिक वर्ष २०७४/७५ मा एक हजार २९१ जनाको परीक्षणमा एक जनाको मृत्यु हुनाका साथै ५८ जनामा संक्रमण देखिएको थियो ।

Batas

नेपालमा सन् २००४ मा पहिलोपटक विदेशी नागरिकमा डेंगु फेला परेको थियो । सन् २००६ मा तराई र भित्री मधेशमा देखिएको डेंगु सन् २००९ मा चितवनमा पहिलोपटक नौ जनामा देखिएको थियो । एक वर्षको अन्तरालमा संक्रमण बढी देखिने गरेको जनाउँदै समयमा नै सावधानी अपनाउनुपर्नेमा जोड दिइएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीय तहहरुले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी थाल्नुपर्ने बताए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले अब प्रत्यक्ष रुपमा नियन्त्रण गर्न काममा नै जुट्नुपर्ने समय आएको बताए।

गाउँ र टोलटोलमा जनचेतना जगाउनुपर्ने उनको भनाइ थियो । डेंगु एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । घर वरिपरि बस्ने एडिस लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गरेको पाइन्छ । यो खासगरी वर्षातको पानी, प्लाष्टिक र टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्यांकी आदिमा सयौँको संख्यामा फुल पार्दछ ।

स्वास्थ्य कार्यालयका किट नियन्त्रक निरीक्षक राम केसीका अनुसार डेङ्गुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कटकटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिरामी आउने, रक्तस्राव हुने जस्ता लक्षण देखापर्ने उनले जानकारी दिए ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ । यो भाइरसका कारण हुने भएकाले खास उपचार नहुने र लक्षणअनुसार उपचार गरिने निरीक्षक केसीले बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.