www.tandavnews.com
Fact ~ In search of truth

पहिरोका कारण गलेश्वरपारिको बस्ती उच्च जोखिममा

गलेश्वर ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ स्थित गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । पहिरो आएर पुरिने डरले यहाँका ३० घरपरिवार रातभर जाग्राम बस्न बाध्य भएका छन् । बस्तीमाथिको भिरालो पाखो लस्किएर बस्ती नजिक आइपुगेको छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापर्बाही गर्दा बस्ती नै पहिरोको जोखिममा परेको स्थानीयवासी बताउँछन् । गत वर्षदेखि सडक निर्माण थालिएको थियो । कमजोर र भिरालो जमीनमा जथाभावीरूपमा सडक बनाउँदा पहिरो चलेको स्थानीयवासी बताउँछन् । जेठको पहिलो सातादेखि नै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् ।

सडक बनाउँदा पर्याप्त सावधानी नअपनाएका कारण बस्तीमाथि पहिरो खस्न थालेको स्थानीयवासी टककुमारी छन्त्यालले बताइन् । कमजोर भूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षण र रोकथामको काम नगरेका कारण पूरै पाखो खस्न थालेको छन्त्यालको भनाइ छ । वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था आउन लागेको छन्त्यालले बताइन् । “बस्तीमाथिको पाखोबाट खसेको पहिरोले घर पुर्न लागेको छ । दुई महिनायता राति निदाउन पाएका छैनौँ”, छन्त्यालले भनिन् , “३५ वर्षदेखि बसेको थातथलो छोडेर कहाँ जाने ? हामीहरुलाई चिन्ता लागेको छ ।”

Batas

गत वर्षदेखि बस्तीमाथिको जमीन चर्किएर पहिरो खस्न थालेको थियो । हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । यहाँका कतिपय बासिन्दा घर छोडेर हिँड्ने तर्खरमा रहेका र कतिले वल्लो गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका स्थानीयवासी तिलबहादुर पुनले बताए ।

बस्ती जोगाउन संरक्षणको काम गर्नका लागि गत वर्षदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि कुनै काम नभएको स्थानीयवासी बताउँछन् । सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसकेका कारण बस्ती जोखिममा परेको गलेश्वरवासीको भनाइ छ । सडक निर्माण गर्दा लापर्बाही भएका कारण बस्ती जोखिममा परेको र सडक पनि दिगो नभएको स्थानीय दीपक कार्की विखर्चीले बताए । जथाभावी खनिएका सडकका कारण गलेश्वरपारिको बस्ती मात्रै होइन म्याग्दीका १९ वटा बस्तीका सयौँ घर र परिवार जोखिममा छन् ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.