www.tandavnews.com
Fact ~ In search of truth

श्रावणको पहिलो सोमबार: केदारेश्वर मन्दिरको गेटमै जल चढाएर फर्किए श्रद्धालु

पोखरा/ताण्डव न्यूज ।

आज पहिलो साउने सोमबार । हिन्दुहरुको धार्मिकस्थलहरुमा भक्तजनहरुको घुँईचो लागेको छ । कोरोनाभाइरसको महामारीबीच पनि भक्तजनहरुको भीड उल्लेख्य देखिएको छ । तर पोखराको केदारेश्वर मन्दिरमा भने श्रद्धालुहरुलाई प्रवेशमा रोक लगाईएको छ ।

सेतीको जल लिएर केदारेश्वर महादेव मन्दिर परिसरमा पुगेका श्रद्धालुहरु गेट बन्द भएपछि गेटमै जल चढाएर फर्किएका छन् । अघिल्ला वर्षहरुमा पोखरामा बोल बम कार्यक्रम हुने गथ्र्यो । तर महामारीका कारण पोहोर र यो वर्ष त्यस्ता कुनै धार्मिक गतिविधिहरु गरिएको छैन ।

Batas

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान् शिवका हजार नाममध्ये एक हो ।

भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ । यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ । यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन् । यसो गरेमा प्रकृतिसँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वाससमेत छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.