www.tandavnews.com
Fact ~ In search of truth

३३ प्रतिशतमा अंकुशः गण्डकी क्याबिनेटको ११ मन्त्रालयमा १ मात्र मन्त्री मधुमाया

पोखरा/ताण्डव न्यूज

संविधानतः सहभागितामूलक राजनीति र नियुक्तिमा ३३ प्रतिशत आरक्षण पाएको महिला अधिकार विपरित गण्डकी प्रदेशको मन्त्रीमण्डलमा एकमात्र महिलाले स्थान पाएकी छिन् ।

प्रदेशमा शुक्रबार थप ६ जना मन्त्रीले सपथ लिएपछि सरकारले पूर्णता पाएको छ । सपथ लिनेमा नेपाली कांग्रेसकातर्फबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र विन्दुकुमार थापा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रबाट रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक थापाले मन्त्री पदको सपथ लिए । यसअघि नै कांग्रेसका कुमार खड्का, जनता समाजवादीका हरिशरण आचार्य, माओवादीकी मधुमाया गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे)ले सपथ लिइसकेका छन् ।

Batas

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसहित गण्डकी प्रदेशमा ११ मन्त्रालय छन् । प्रदेशमा रहेको ११ मन्त्रालयमा महिलाबाट १ जना मात्र मन्त्री छन् । महिलाका हकमा ३३ प्रतिशत कोटाको व्यवस्था गरिएपनि गण्डकी प्रदेशमा भने उक्त आरक्षण प्रणालीको धज्जी उडाइएको छ । शुक्रबार विस्तारित प्रदेशको मन्त्रीमण्डलमा महिला समावेशितालाई किनारा लगाइएको छ ।

मन्त्रीमण्डलमा एकमात्र महिला सांसद माओवादी कोटाबाट रहेकी छिन् । माओवादीकी मधु अधिकारी गुरुङले करिब १ महिना अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी हुन् । गठबन्धन सरकारमा माओवादी महिला समावेश गराउनुपर्ने पक्षमा रहँदै आएको थियो । मन्त्रीमण्डलमा महिला समावेश नगराएकोबारे कांग्रेसकै महिला सांसद रुष्ट देखिन्छन् । तर औपचारिकरुपमा खुलेरै प्रतिक्रिया भने कसैले दिन चाहेनन् ।

मन्त्रीको सपथलगत्तै जनमोर्चाकी प्रदेश सांसद तथा संसदीय दलकी नेता पियारी थापाले सामाजिक संजाल फेसबुकमा मन्त्रीमण्डल विस्तारमा महिलालाई सहभागिता नगराइएको बारे गुनासो पोखिन् । उनले ‘महिलाप्रति राजनीतिक दलले पार्टीले देखाएको हेयको दृष्टिकोण बदल्नुपर्ने’ लेखेकी छन् । यस विषयमा कुराकानी गर्दा थापाले राजनीतिक दलले समेत पित्तृसत्तात्मक सोंच पालेको भन्दै महिलाको क्षमतामा विश्वास नगरेको जनाइन् ।

केन्द्रसम्म महिला अधिकार र पहुँचका कुरा आएपनि क्षमतामा विश्वास गरिएन’, थापाले भनिन्, ‘गण्डकी प्रदेशमा आज विस्तारित मन्त्रीमण्डलबाट दुखी छु ।’ कांग्रेसले मन्त्रीमा महिलालाई समावेश गर्न नखोजेको प्रष्ट देखिएको उनको बुझाई छ । कांग्रेसले महिलालाई समावेश गर्न नखोजेको भन्दै उनले ५ जनामा एकजना महिलालाई समेट्न नसकेको बताइन् ।

आन्दोलनको अग्रभागमा महिला सहभागिता आवश्यक मानिए पनि सत्ता साझेदारीमा सँधै पछि पारिने गरेको उनको आरोप छ । ‘महिलालाई अवसर दिन नखोज्ने अनि क्षमता छैन भन्ने यो कस्तो तरिको हो ?’ उनको प्रश्न छ ।

कांग्रेसकी महिला सांसद ओमकला गौतमका अनुसार प्रदेशमा मन्त्री हैन मुख्यमन्त्री नै चलाउन सक्ने महिला सांसद रहेका छन् । ‘वास्तवमा यो विषयमा तत्काल बोल्न चाहान्न’ सांसद गौतम भन्छिन् ‘यो विष्यमा मुख्यमन्त्रीसंग सोध्नुहोस्, नियुक्त गर्नुभाको उहाँले हो, के देख्नु भयो, के देख्नु भएन उहाँलाई थाहा होला ।’

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सांसद जुनादेवी नेपालीले गण्डकी प्रदेश सरकारले महिला सांसदलाई अवसर नदिएको गुनासो पोखेकी छिन् । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारमा पनि महिला सांसदलाई अवसर नदिइएको भन्दै उनले त्यतिबेला ६ मन्त्रालयमा सामाजिक विकास मन्त्रालयको जिम्मा एमाले सांसद नरदेवी पुन मगरले पाएको स्मरण गराइन् । महिला कोटासहित दलित महिला, समावेशीतालाई पनि सरकारले लत्याएको उनको गुनासो छ । उनले भनिन्, ‘अहिलेपनि घुमाउरो पाराले राजनीतिमा महिलामाथि विभेद भएको छ ।’

प्रदेशमा जसपाका दुई सांसद छन् । गठबन्धन सरकारले जसपालाई दुई मन्त्रालय दिने लिखित सम्झौता गरेको थियो । सम्झौता अनुसार हरिशरण आचार्यले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । तर जसपाकी सांसद धनमाया पोखरेल लामा भने सम्झौता भएपनी मन्त्री बन्न पाइनन् । राजनीतिमा महिलाको सक्रिय भूमिका रहेपनि दलले कदर नगरेको उनको गुनासो छ ।

६० सदस्यीय प्रदेश सभामा उपसभामुख सृजना शर्मासहित २० महिला सांसद छन् । प्रदेशमा एमालेबाट सृजना शर्मा, जुनादेवी नेपाली, दिलमाया रोका मगर, नरदेवी पुन मगर, पुस्पा केसी भण्डारी, प्रभा कोइराला, मित्रकुमारी गुरुङ सुवेदी, मिना गुरुङ, लक्ष्मी सुनार र सावित्रा राना छन् ।

माओवादीबाट आशा कोइराला, गायत्री गुरुङ र मधुमाया अधिकारी गुरुङ रहेकी छन् । त्यस्तै, कांग्रेसबाट ओमकला गौतम, कोपिला बोहोरा, मनकुमारी गुरुङ, ललितकला गुरुङ, सरिता गुरुङ सांसद छन् । जसपाबाट धनमाया पोखरेल लामा र जनमोर्चाबाट पियारी थापा रहेकी छिन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.