www.tandavnews.com
Fact ~ In search of truth

घान्द्रुक : पहिरो पीडित परिवारलाई लामा अमृत फाउण्डेशनको आर्थिक सहयोग

पोखरा/ताण्डव न्यूज ।

अविरल वर्षाका कारण पहिरोले घरमा क्षति पुर्याएका पीडित परिवारलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग गरेको छ ।

लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले घटनास्थलमै पुगेर अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकका १२ परिवारलाई बिहिबार आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

Batas

फाउण्डेशनका संस्थापक गुरुङले पहिरोले पुर्याएको क्षतिको प्रकृति अनुसार पीडित परिवारलाई राहात स्वरुप आर्थिक सहयोग गरेको बताए ।

उनका अनुसार घर पूर्णरुपमा क्षति भएको मईता सिँ–चिजकुमारी गुरुङको परिवारलाई ७ लाख, हरीकला गुरुङ र उनको घरमा रेष्टुरेण्ट सञ्चालन गर्दै आएका छबि रानामगरलाई समान ७५ हजार/७५ हजार, विस्थापित भएका बुद्धीराज परियार र मनबजु परियारलाई समान १ लाख २५ हजार/१ लाख २५ हजार, दोबाटोका राजमान गुरुङ, खड्का जैसी, घुर्जुङका लाल गुरुङ, सोही स्थानकै राम प्रसाद गुरुङ, धनु गुरुङ, कत्रोका मिम कुमारी बिक र टेक बहादुर जैसीलाई समान २२ हजार/२२ हजारको दरले प्रदान गरिएको हो ।

संस्थापक गुरुङले हस्तान्तरण पश्चात बोल्दै पीडितहरुकै अनुमतिमा स्वदेश तथा विदेशबाट सहयोग रकम संकलन गरेको बताए । पीडित परिवारहरुले सो रकमको सहि सदुपयोग गर्न सुझाब दिदै उक्त रकमले पीडितलाई केही टेवा पुग्ने धारणा राखे ।

उनले एक महिनाको अवधिमा सोचेभन्दा बढि १३ लाख रुपैया संकलन गर्न सफल भएको बताउदै सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गरे । गुरुङले घान्द्रुक स्वास्थ्य चौकी र प्रहरी चौकीलाई समेत स्वास्थ्य सामाग्री प्रदान गरेको बताउदै आगामी दिनमा पनि पुण्य काममा निरन्तर लागिरहने बताएका थिए ।

यसैगरी चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले लामा अमृत फाउण्डेशनले उदाहरणीय कार्य गरेको उल्लेख गरे । उनले फाउण्डेशनको पुण्यकार्यबाट अरुले समेत पाठ सिक्नुपर्ने बताएका थिए ।

त्यसैगरी घान्द्रुक प्हे ल्हु संघ ईकाई समितिका अध्यक्ष प्रेम गुरुङले उक्त फाउण्डेशनको आर्थिक सहयोग सबैभन्दा ठुलो रहेको भन्दै खुलेरै प्रसंशा गरे । उनले विपदको समयमा मात्र नभई सदाबहार घान्द्रुकबासीहरु एकताको सुत्रमा बाधिनुपर्ने धारणा राखे । उनले एक परिवार दुखमा पर्दा अर्को परिवारले सहयोग गर्ने प्रचलन पहिले देखि नै रहदै आएको बताउदै उक्त कार्यले निरन्तरता पाउनुपर्नेमा समेत जोड दिएका थिए ।

यसअघि घान्द्रुक होटल तथा पर्यटन व्यवस्थापन समिति, घान्द्रुक समाज हाङकङ, घान्द्रुक समाज युके लगायत विभिन्न संघ संस्था उक्त पीडित परिवारहरुलाई आर्थिक सहयोग गरिसकेको थियो ।

गत असार १ गते राती ११ः५५ बजे पहिरोले मईता सिंह गुरुङ र हरिकला गुरुङको घर पूर्ण रुपमा क्षति पुर्याएको थियो भने बुद्धिराज परियार र मनबजु परियारको घर चर्किएपछि विस्थापित भएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.