www.tandavnews.com
Fact ~ In search of truth

विश्व हात्ती दिवस : वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती

चितवन ।

पर्यटकलाई वनजंगल घुमाउने हात्ती आफैले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ । जंगलको जनावर भएर पनि वनपाखा, खोला जंघारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो ।

त्यसो त यसलाई राणाहरुले सिकार खेल्नसमेत प्रयोग गरे । नेपालका तराई क्षेत्रका निकुञ्ज र संरक्षित क्षेत्रको संरक्षणमा यसको प्रयोग हुँदै आएको छ । राजा, राणा र साहुमाहाजनले तत्कालीन समयमा शोख र सिकारका लागि प्रयोग गर्ने हात्ती पछिल्ला वर्षमा वन र वन्यजन्तु संरक्षणमा उपयोग गरिँदै आएको छ ।

Batas

नेपालका तराईमा रहेका ६ वटा राष्ट्रिय निकुञ्ज र आरक्ष संरक्षणमा हात्तीको प्रयोग गरिँदै आएको छ । देशकै पहिलो चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको तयारीकै बेलादेखि निरन्तर २७ वर्ष काम गरेका रामप्रित यादव हात्तीको महत्वको बारेमा चर्चा गरेरै नसकिने बताउछन् । यो निकुञ्ज विसं २०३० मा विधिवत् रुपमा स्थापना भएको हो ।

यसै निकुञ्जमा तीन पटकसम्म प्रमुखको भूमिकामा रहेका यादव संरक्षणमा मात्रै नभएर हात्तीको ऐतिहासिक र धार्मिक महत्वसमेत रहेको बताउछन् । पर्साको चारकोशे झाडीमा जङ्गबहादुर राणाले हात्ती समाउने गरेको चर्चा गर्दै उनले भने, ‘रामायण र महाभारत जस्ता ग्रन्थहरुमा युद्ध गर्न हात्तीको प्रयोग गरिएको चर्चा पाइन्छ ।’ हिन्दू धर्ममा महत्वपूर्ण मानिएको हात्ती सिकार हुँदै अहिले संरक्षणमा लगाइँदै आएको छ ।

यादवको भनाइमा चोरीसिकार नियन्त्रण, गस्तीदेखि सडक नपुगेका निकुञ्जका भित्री भागमा कर्मचारी र रासनपानी ओसार्न हात्तीको प्रयोग गरिन्छ । पहिले पहिले भारतको आसाम क्षेत्रमा हात्ती समाउन पाउने भए पनि पछिल्ला वर्षमा भारत सरकारले रोकेसँगै नेपालमा हात्ती किन्नुपर्दा महँगो भएको यादव बताउछन् ।

यादवले भने, ‘हाम्रो बेलामा पाँच ६ हजारमा हात्ती पाइन्थ्यो, अहिले ८० लाखभन्दा बढी पर्छ रे ।’ निकुञ्जमा ५६ वटा सुरक्षा पोष्ट रहेका छन् । तीमध्ये १६ वटामा हात्ती रहेका छन् । प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्ज सुरक्षामा हात्तीको भूमिका महत्वपूर्ण रहेको बताउछन् । वर्षातको समयमा निकुञ्जका भित्री भागमा रहेका पोष्टलगायतका क्षेत्रमा गस्तीको माध्यम हात्ती मात्रै हुने गर्दछ । अहिले निकुञ्जमा भएका पोष्टमध्ये २० वटा बाहेक अन्यत्र कर्मचारी ओहोरदोहोर, रासनपानी ओसारपसार लगायतकाकार्य हात्तीले गर्दै आएका छन् ।

वर्षा होस् वा हिउँद वन्यजन्तु घाइते हुँदा होस् वा नियन्त्रण गर्नुपर्दा हात्तीकै साहारा लिनुपर्ने बरालको भनाइ छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार यस निकुञ्जमा २३ पोथीसहित ५६ हात्ती छन् । तीमध्ये नौ वटा बच्चा बाहेक अधिकांश संरक्षणमा जुट्ने गर्दछन् । यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा ६८ वटा निजी हात्ती पर्यटक घुमाउन प्रयोग हुँदै आएका छन् ।

हात्ती बिनाको संरक्षण कल्पना गर्न नसकिने अधिकारीको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य नेपालका तराईका सबै निकुञ्ज सुरक्षामा हात्तीको प्रयोग हुँदै आएको बताउछन् । निजीसहित २०० हाराहारी हात्ती नेपालमा रहेका छन् । सबैभन्दा बढी चितवनमा रहेका छन् भने त्यसपछि बर्दियामा १५ वटा छन् । कोशीटप्प वन्यजन्तु आरक्ष, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १०-१० वटा हात्ती रहेका छन् ।

सरकारी हात्तीमध्ये ११५ हाराहारी सुरक्षामा सुरक्षामा परिचालन गर्ने गरिएको छ । सौराहा नजिकै हात्ती प्रजनन केन्द्र रहेको छ । सोही केन्द्रमा हात्तीका बच्चा हुर्काउने र तालिम दिने गरिँदै आइएको छ । निकुञ्ज स्थापना हुनुअघि पनि वन क्षेत्रमा गस्तीका लागि हात्ती नै प्रयोग गर्ने गरेको आचार्य बताउछन् ।

हात्ती गस्ती, पेट्रोलिङ, वन्यजन्तु अनुगमन, उद्धार, अनुसन्धानसँगै पर्यटनमा हात्तीको प्रयोग हुने गरेको उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जले गैँडा र बर्दियाले बाघ संरक्षणका लागि जोड दिँदै आएको छ भने पर्सा राष्ट्रिय निकुञ्जले हात्ती संरक्षणमा काम गर्दै आएको छ ।

वन्यजन्तुमा हात्ती सबैभन्दा ठूलो र बुद्धिमान जनावर हो । यो जनावर आफू सुरक्षित हुँदै अरुको सुरक्षा गर्न खटिँदै आएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.