www.tandavnews.com
Fact ~ In search of truth

देशका लागि पदक दिलाए तर नागरिक बन्न सकिनः कुस्ती खेलाडी शिवानी

शेरबहादुर सिंह

कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकुदमा निरन्तरको मेहेनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा ७ स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता पाउन मुस्किल भइरहेको दुखेसो पोख्छन् ।

शिवानीका बाबु भारतीय नागरिक हुन् भने आमा नेपाली । विसं २०५६ सालमा डडेल्धुराकी राधिका रोकासित विवाह गरेपछि शिवानीका बुवा राजु दुबे नेपालमै बस्दै आएका छन् । डडेल्धुराको तुफानडाँडाबाट विवाह गरेका राजु पनि कुस्तीका राष्ट्रिय खेलाडी हुन् ।

Batas

केही समयपछि नर्वेमा हुने कुस्ती च्याम्पियनसीपका लागि खेलाडी छनोटको तयारी हुँदा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेकी शिवानी निराश हुँदै फर्किए । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ खैरेनी बस्दै आएका दुबे परिवार महेन्द्रनगरमा मजदुरी गरेर जीविका चलाउँदै आएका छन् ।

‘खेलाडी राष्ट्रका गहना हुन, देशको शिर उचो बनाउने काम खेलाडीबाट पनि हुन्छ’, शिवानीका बाबु राजुले भने, ‘अन्तर्राष्ट्रियस्तरमा समेत छोरीले देशका लागि पदक दिलाउँदा पनि नागरिकताका लागि यस्तो दुख भयो ।’ आमा राधिकाको नागरिकताका आधारमा आफूले पनि नागरिकता पाउनुपर्ने शिवानीको भनाइ छ ।

कुस्तीकी कम उमेर समूहकी खेलाडी शिवानी १५ वर्षको उमेरदेखि राष्ट्रिय प्रतियोगितामा पदक जित्दै आएकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का ५३ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी शिवानी फाइनलमा भारतीय खेलाडी पिंकी सेरावतसित पराजित भएकी थिइन् ।

‘अहिलेसम्म कुनैपनि प्रतियोगिताबाट पदकविहीन फर्किनुपरेको छैन’, शिवानीले भनिन्, ‘ओलम्पिकसम्म पुग्ने मेरो सपना हो ।’ उनले आफूले आमाको नामबाट पनि नागरिकता पाउने प्रबन्ध रहेको सुनेको बताए । बाबु राजुले शिवानीको नागरिकता लागि राष्ट्रिय खेलकुद परिषद्बाट पनि पहल भइरहेको जानकारी दिए ।

‘डडेल्धुरा जिल्ला प्रशासनले आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन भइनसकेको भनेर फर्काइदियो’, उनले भने, ‘अहिले कुस्ती संघ र राखेपले पनि पहल गरिरहेकाले आशा पलाएको छ ।’ राजुका २ छोरी र १ छोरा छन् । शिवानी जेठी छोरी हुन् ।

यसअघि पनि क्रिकेटका राष्ट्रिय खेलाडीले नागरिकता पाएको सुनेकाले शिवानीले पनि पाउनुपर्ने उनको भनाइ छ । आफू विगत २२ वर्षदेखि नेपालमै बस्दै आएको जनाउँदै राजुले आफूसँग भारतीय कुनैपनि कागजात नरहेको बताए ।

कुस्तीका प्रशिक्षक राजेन्द्रबहादुर चन्दले महिला कुस्तीमा राष्ट्रियस्तरमै कञ्चनपुर अब्बल रहेको बताए । ‘महिला खेलाडी भनेकै अहिले कुस्तीमा हाम्रै खेलाडी हाबी छन्’, उनले भने ‘शिवानी लगनशील र अब्बल खेलाडी हुन् ।’ प्रशिक्षक चन्दले कानुनी प्रक्रियाअनुसार शिवानीले नागरिकता पाउनुपर्ने बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.