www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश खेल पूर्वाधार निर्माणका लागि रु १६ करोड ४५ लाख बजेट विनियोजन

कूल विनियोजित बजेटमा पोखरा रंगशालामा मात्रै रु १५ करोड छ ।

गण्डकी प्रदेशमा गत वर्षको फागुनमा तय भएको नवौँ राष्ट्रिय खेलकुद कोरोना भाइरसको महामारीका कारण आयोजना हुन सकेन । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा आठौँ राष्ट्रिय खेलकुदको समापनपछि नवौँ आयोजनाको जिम्मेवारी गण्डकीले पाएको थियो । अघिल्लो वर्ष कोरोनाले प्रतियोगिता रोकिएकाले यस वर्ष आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ को छ ।

प्रतियोगिताको आयोजना कोभिड–१९ को प्रभावमा निर्भर रहने राखेपले जनाएको छ । प्रतियोगिता यसै वर्ष हुने नहुने यकिन नभए पनि प्रतियोगिता लक्ष्य गरेर खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रंगशालासहित प्रदेशका अन्य जिल्लामा खेल पूर्वाधार निर्माणका लागि रु १६ करोड ४५ लाख बजेट विनियोजन गरिएको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए ।

कूल विनियोजित बजेटमा पोखरा रंगशालामा मात्रै रु १५ करोड छ । पोखरा रंगशालाभित्र हिटिङ स्वीमिङ पुल ‘पौडी पोखरी’ का लागि रु ६ करोड बजेट यस वर्ष परेको छ । सुटिङका लागि रु २ करोड विनियोजन गरिएको छ । यसैगरी फुटबल स्टेडियमा ‘फ्लड लाइट’ जडानका लागि रु ५ करोड, रंगशालामा होभरहेड ट्यांक रु १ करोड र पोखरा क्रिकेट मैदानका लागि रु १ करोड यस वर्ष राखेपको रातो किताबमा परेको कार्यालय प्रमुख योगीले जानकारी दिएका छन् ।

Batas

‘कोरोनाका कारण गत वर्ष सम्पन्न हुन नसकेको राष्ट्रिय खेलकुद यस वर्ष सम्पन्न गर्ने योजना राखेपको छ’, योगीले भने, ‘सोहीअनुसार खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भएको छ, छिट्टै बोलपत्र आह्वान भएर कार्यान्वयन गछौँ ।’ पोखरा रंगशालामा अधिकांश खेलका पूर्वाधार तयारी अवस्थामा रहेकाले पनि प्रतियोगिता आयोजनालाई समस्या नपर्ने बताइन्छ । पौडी पोखरी, सुटिङ र हक्कीबाहेका अन्य खेलका पूर्वाधारको समस्या पोखरामा छैन ।

राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा बजेट अभाव भएमा यसबाहेक पनि थप बजेट प्राप्त हुने योगीको भनाइ छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मर्मत तथा निर्माण शीर्षकमा रु ५० लाख छुट्याइएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने राखेपले योजना बनाएको छ । पोखरा रंगशालाबाहेक अन्यत्र जिल्लास्तरमा आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि यस वर्ष बजेट छुट्याइएको छ ।

पर्वत, मनाङ र मुस्ताङमा कभर्डहलका लागि रु १० लाखका दरले बजेट विनियोजन गरिएको छ । स्याङ्जामा खेल पूर्वाधारका लागि रु १० लाख, नवलपरासीको कावासोती रंगशालाका लागि रु १० लाख, तनहुँको चिन्नुटार, म्याग्दीको रत्नेचौर, लमजुङको राइनास र गोरखा रंगशालाका लागि रु १० लाखका दरले राखेपबाट बजेट विनियोजन भएको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.