www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्रीको टाउकोमा २५ लाख ऋण, शिक्षामन्त्रीसँग १ किलो १९ तोला सुन

गण्डकी प्रदेशका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आफ्नो वेबसाइटबाट सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद् विस्तार भएको २ महिनापछि ९ मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

यता युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले भने सम्पत्ति विवरण बुझाएका छैनन् । गण्डकीमा हाल ११ मन्त्री छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सम्पत्ति विवरण
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्पत्ति विवरणमा २५ लाख रुपैयाँ ऋण देखाएका छन् । कृषि विकास बैंकबाट २०७६ मा उनले उक्त ऋण लिएका थिए । पोखरेलसँग ५ तोला सुन छ ।
पोखरेलले तलबबाट आएको ५ लाख नगद एभरेष्ट बैंकमा आम्दानी देखाएका छन् । उनको श्रीमती लता पोखरेलको नाममा गैंडाकोटमा २० लाख रुपैयाँको एउटा घर छ भने मुख्यमन्त्री पोखरेलको नाममा काठमाडौं र तनहुँमा जग्गा रहेको छ ।

Batas

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काको सम्पत्ति विवरण
भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काको नाममा पोखरा महानगरपालिका–१६ मा ३८२.२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको घर छ । मन्त्री खड्काले यसलाई स्वआर्जन र पैतृक सम्पत्तिबाट निर्माण गरेको उल्लेख गरेका छन् ।
९५ तोला सुन, विभिन्न वित्तीय संस्थामा १ करोड बढी नगद मौज्दात, ५६ लाखको सेयर तथा ८५ लाख ऋण दिएको उनले सम्पत्ति विवरणमा खुलाएका छन् । मन्त्री खड्कासँग श्रीमतीको नाममा ४२ लाख पर्ने फोर्ड इकोस्पोर्ट सवारी छ भने सवारी प्राप्तीको स्रोतमा उनले पुरानो कार दिई बाँकी रकम एनआइसी एसिया बैंकबाट अटो लोन लिएर किनेको उल्लेख गरेका छन् ।

अर्थमन्त्री रामजीप्रसाद बरालको सम्पत्ति विवरण
अर्थमन्त्री रामजीप्रसाद बरालले ६० हजार रुपैयाँको गाईदेखि सवारीसाधनको नाममा २ छोरा र बुहारीको नाममा २ मोटरसाइकल तथा १ स्कुटर रहेको उल्लेख गरेका छन् । मन्त्री बरालसँग ४ तोला सुन रहेको विवरणमा खुलाएका छन् ।
अर्थमन्त्री बरालले गत वर्षमात्रै १ करोड रुपैयाँ ऋण लिएको विवरण देखाइएको छ । एनआईसी एसिया बैंकबाट ऋण लिएका उनले त्यसको कारण भने उल्लेख गरेका छैनन् । निफ्राको ६० कित्ता सेयर, एभरेस्ट बैंकमा ३ लाख नगद मौज्दात उनले आम्दानी देखाएका छन् । साथै पोखरामा मन्त्री बराल र उनको श्रीमतीको नाममा जग्गा रहेको छ ।

ऊर्जामन्त्री हरिशरण आचार्यको सम्पत्ति विवरण
ऊर्जामन्त्री हरिशरण आचार्यले गोरखाको पालुङटार–२ मा बुबा र श्रीमतीको नाममा घरजग्गा रहेको विवरणमा पेस गरेका छन् । मन्त्री आचार्यसँग ८ तोला सुन र ५ तोला चाँदी रहेको छ । उनले स्वआर्जन फर्निचरबाट सुन र चाँदी किनेको विवरणमा देखाएका छन् ।
मन्त्री आचार्यले बैंकबाट लिएको ५० लाख ऋणमा १० लाख तिरेको उल्लेख गरेका छन् भने उक्त ऋणबाट उनले २० लाखमा आमुल फर्निचर उद्योग सञ्चालन गरेका छन् । उनले कृषि विकास र प्रभु बैंकबाट ऋण लिएका थिए ।

पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलको सम्पत्ति विवरण
बागलुङको काठेखोलास्थित लेखानीमा जन्मिएका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलसँग २५ तोला सुन, १ केजी चाँदी, आफ्नो नाममा ६ लाख नगद तथा इन्द्रकली कँडेलको नाममा झन्डै २ लाख रुपैयाँ नगद रहेको छ । झन्डै ८७ हजार कित्ता सेयर, २ करोड ६७ लाख ऋण रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
मन्त्री शर्मासँग लेखानीमा ६ ठाउँमा जग्गा छ । इन्द्रकली कँडेलको नाममा लेखानीमा ४ र नरेठाँटीमा ३ ठाउँमा जग्गा छ । मन्त्री कँडेलको नाममा चितवनमा ५ ठाउँ, रुपन्देहीमा ९ तथा इन्द्रकली कँडेलको नाममा चितवनमा नै ३ ठाउँमा जग्गा छ । मन्त्री कँडेलसँग बागलुङ नगरपालिकामा ४८ लाख ५० हजारमा किनेको घर छ ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको सम्पत्ति विवरण
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठसँग १ किलो १९ तोला सुन रहेको विवरणमा पेस गरिएको छ । मन्त्री श्रेष्ठसँग १५ लाख नगद तथा ७ किलो २ तोला चाँदी र १ थान हिराको औंठी रहेको देखाएका छन् । यसको स्रोत उनले पैतृक तथा पेवा उल्लेख गरेका छन् ।
स्याङ्जाको भिरकोट र काठमाडौंको नागार्जुनमा पक्की घर, स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा उनको जग्गा रहेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङको सम्पत्ति विवरण
स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङको नाममा लमजुङको दूधपोखरीमा घर, लमजुङ, चितवन र हेटौंडामा ४ ठाउँमा जग्गा, ३ तोला सुन, १ स्कुटर तथा ८ लाख ६० हजार नगद मौज्दात रहेको उनले सम्पत्ति विवरणमा पेस गरेका छन् ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाको सम्पत्ति विवरण
कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाको नाममा पोखराका विभिन्न ६ ठाउँमा घर, ८ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । मन्त्री थापासँग घरमा नगद ५५ हजार रुपैयाँ, ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा रहेको छ ।
विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद मौज्दात, आफूसहितको सगोल परिवारमा ७ लाख ५० हजार कित्ता सेयर सम्पत्ति विवरणमा उल्लेख छ । २ वटा गाडी, ५ वित्तीय संस्थामा ऋण तथा होटेल, ट्रेड हाउस, मल, रिसोर्टलगायतमा मन्त्री थापाको लगानी रहेको छ ।

वनमन्त्री दीपक थापाको सम्पत्ति विवरण
वनमन्त्री दीपक थापासँग ३० तोला तेजाबी सुन र २० तोला चाँदी पैतृक सम्पत्ति छ । विभिन्न वित्तीय संस्थामा ६१ लाख ५० हजार ऋण देखाएका उनले चर्ती नर्सरी उद्योग खोलेर चियाका बिरुवा उत्पादन गर्दै आएका छन् । उनले स्याङ्जाको बिरुवा गाउँपालिका–२ मा ५० हजार रुपैयाँमा घर किनेका छन् ।
सांसद भएपछि उनले पोखरा महानगरपालिका–१४ मा ४० लाखको जग्गा किनेका छन् । त्यसको स्रोतमा तलबभत्तादेखि छोराको व्यवसाय, विदेशमा रहेका छोराछोरीको रेमिट्यान्स पनि उल्लेख गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.