www.tandavnews.com
Fact ~ In search of truth

नेकपा (एमाले) ले दल त्याग गरेकालाई पार्टीबाट निष्कासन गर्ने 

रासस

नेकपा (एमाले) ले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताए । बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ ।

Batas

पार्टी परित्याग गरेका कसैले भुल महसुस गरे सच्याएर आए पार्टी एकतामा फर्कन चाहनेलाई ढोका खुल्ला राखिने उनको भनाइ छ । ‘उहाँहरु फर्कनु भयो भने हामी स्वागत गर्दछौं’, उनले भने, ‘आफूलाई सुधार गरेर आउँछन् भने ती साथीलाई पार्टीमा जिम्मेवारीसमेत दिन्छौं ।’

बैठकले १० बुँदे प्रस्ताव शीघ्र र प्रभावकारीरूपमा पार्टी एकताको मर्मलाई प्रतिबिम्ब गर्ने गरी कार्यान्वयन गर्ने समेत निर्णय गरेको उनले बताए । बैठकले निर्वाचन आयोगले पार्टीबाट हटाएर र अनुपस्थिति रहेका नेताको सनाखत गरेर पार्टी विभाजनमा सहयोगी बनेको निष्कर्ष निकालेको पार्टीका प्रवक्ता ज्ञवालीले जानकारी दिएका थिए ।

‘सनाखत भनेको त्यो व्यक्तिको हस्ताक्षर हो वा होइन भन्ने हो’, उनले भने, ‘तर आयोगमा उपस्थित नभएका व्यक्तिको पनि सनाखत गरी आयोग दल विभाजन गर्न सहयोगी बन्यो ।’

मंगलबार एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको थियो । बैठकले पार्टीले कारबाही गरेर पठाएका सांसदको कारबाहीको सूचना सभामुख अग्निप्रसाद सापकोटाले अझै टाँस नगरेकाले संसदीय अभ्यासअनुसार प्रतिवाद गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले १० बुँदे सहमति जनवर्गीय संगठनमा कार्यान्वयन गर्नका लागि महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ ।

यही भदौ ८ गते एमालेको स्थायी कमिटी बैठकले पार्टीको सबै संरचना २०७५ जेठ २ गते अवस्थामा फर्काउने निर्णय गरेको थियो । १० बुँदे कार्यान्वयनमा समस्या आएमा उपाध्यक्ष भीम रावल, उमहासचिवद्वय पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्टसहितको सहजीकरण गर्नका लागि कार्यदल गठन गरेको छ ।

उनले बैठक पार्टीको आन्तरिक रूपान्तरणमा रहेकाले पार्टीलाई एकताबद्ध बनाउने बताए । एमालेले पार्टीको १० औं राष्ट्रिय महाविधेशन आगामी मंसिर १० देखि मंसिर १३ गते र विधान अधिवेशन आगामी असोज ४ गतेदेखि असोज ६ गतेसम्म गर्ने निर्णय गरेको छ । एमालेले आगामी कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भएको छ ।

बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकताका पक्षमा उभिने र विभाजनको विपक्षमा उभिनेलाई स्वागत गरेका थिए । बैठकमा बोल्ने सबै केन्द्रीय सदस्यले पार्टी एकता सुदृढीकरण गर्न संकल्पसमेत व्यक्त गरेका थिए । बैठकले जनवादी गायक जेवी टुहुरेको निधनप्रति दुख व्यक्त गरेको छ । एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमतिअनुसार पार्टी एकताबद्ध बनाउने विषयमा छलफल भएको बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.