www.tandavnews.com
Fact ~ In search of truth

बाढीपहिरोः जेठ ३१ यता ८५ को मृत्यु, ४४ बेपत्ता

रासस

मनसुन सुरु भएयता गत जेठ ३१ पछि मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी अन्य ४४ जना हराइरहेको गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म ५ हजार ५ सयभन्दा बढीलाई उद्दार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिए ।

गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापनसम्बन्धी बैठकमा विवरण सार्वजनिक गर्दै उनले अहिलेसम्म विपद्बबाट ७० जिल्ला प्रभावित भएको जानकारी दिए ।

Batas

आजमात्रै बाढीबाट ४ सय जना प्रभावित भएको र उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । आज ३ को मृत्यु र ३ जना बेपत्ता भएका छन् । त्यस्तै १९ घरमा क्षति भएको जनाइएको छ । बाढीपहिरोले क्षति पुर्याएको ३८ जिल्लामा पुनःनिर्माण गर्न रु १ अर्ब ११ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

महाशाखा प्रमुख पाण्डेले बाढी पहिराका कारण आज सानाठूला गरेर २९ सडक अवरुद्ध भएको जानकारी दिए । केही खुलेका र केही खुल्न बाँकी रहेका छन् । प्राप्त विवरणअनुसार यसपालिको वर्षाका कारण कैलाली, नवलपरासी, कञ्चनपुर, कैलाली, दाङ, रौतहट, रुपन्देही, महोत्तरी, कपिलवस्तु, चितवन, खोटाङ, सिन्धुली, बाजुरालगायत जिल्ला प्रभावित भएको गृहमन्त्रालयले जनाएको छ ।

वेपत्ताको खोजी र उद्दार प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले पछिल्लो समय देशभर आएको बाढी, पहिराका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्दार तथा राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बाढीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्ड, तुरिया र घोडाहा खोलामा रहेको २ पुल भत्किएको तथा सडक अवरुद्ध भएको र त्यस स्थानमा तत्काल वेलिवृज बनाउन निर्देशन दिएका छन् ।

बाढी प्रभावित ४ सय परिवारलाई सुरक्षित स्थानमा राख्न र तत्काल राहत तथा उपचारको व्यवस्था मिलाउन पनि उनले निर्देशन दिएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न पनि उनले सबै सुरक्षा निकाय तथा मातहतका सम्बद्ध अधिकारीलाई निर्देशन दिए । अवरुद्ध राजमार्गमा सवारी साधन सञ्चालनका लागि वैकल्पिक उपाय अपनाउन पनि उनले आग्रह गरेका छन् । आजको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग, जल तथा मौसम विज्ञान विभागका अधिकारीको सहभागिता थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.