www.tandavnews.com
Fact ~ In search of truth

साताको सेयर बजारः ४१ अर्ब ६३ करोडको कारोबार

रासस

सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा ३ दिन मात्रै सेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । मंगलबार, बुधबार र बिहीबार सेयर कारोबार भयो । यस साता जलविद्युत् कम्पनीको सेयरमा केही दबाब देखापर्यो ।

साताभर कूल २ सय ३२ कम्पनीको ६ करोड ६६ लाख ६ हजार ४ सय ७५ कित्ता सेयर कारोबार भयो । साताभरको कूल कारोबार रु ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार ३ सय ५६ बराबर रह्यो । कारोबार भएका ती दिनमा पनि बजार उतारचढावपूर्ण अवस्थामा रह्यो ।

Batas

कारोबार भएको पहिलो दिन अर्थात् मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट देखियो । त्यस दिन विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको सेयर मूल्यमा उच्च अंकको गिरावट देखियो । पछिल्ला दिनमा जलविद्युत् उपसमूहको सेयरमा अस्वभाविक चलखेल भएको भन्दै गुनासो बढेको थियो । विद्युत् नियमन आयोगलेसमेत सो सम्बन्धमा चासो व्यक्त गरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से ५६.०३ बिन्दुले घटेर ३ हजार १२४.८७ मा ओर्लियो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.८१ बिन्दुले घटेर ५७७.६६ मा घटेको छ ।

कुल २ सय २५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८ सय ५ कित्ता सेयर रु १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० मा कारोबार भयो । त्यसदिनको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ६६ अर्ब ६ करोड १९ लाख १० हजार बराबरमा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये २ उपसमूहको सेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको सेयर ओरालो लाग्यो । विवरणअनुसार त्यसदिन १६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेपछि नकारात्मक सर्किट लाग्यो । मंगलबार जस्तै धितोपत्र बजारमा बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो । त्यसदिन नेप्से ४८.४४ अंकले घटेर ३ हजार ७६.४४ मा ओर्लियो ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ बिन्दुले घटेर ५६७.९९ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत खुम्चियो । कूल २ सय २७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर रु १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५ सय ४ मूल्यमा खरिद बिक्री भए । त्यस दिनको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ९८ अर्ब ४० करोड ८९ लाख ६० हजार बराबर पुग्यो । सो दिन कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आयो । कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रही रु ४८ करोड ७१ लाख ५ हजार ३ सय ४६ बराबरको सेयर खरिद बिक्री भयो । बिहीबार नेप्सेमा दोहोरो अंकको सुधार भयो । त्यसदिन नेप्से १७.६० अंकले बढेर ३ हजार ९४.०५ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० बिन्दुले बढेर ५७१.३९ मा पुगेको छ । नेप्सेले उचाइ प्राप्त गरे पनि कारोबार रकम भने उल्लेख्य वृद्धि भएन । कूल २ सय ३२ कम्पनीको २ करोड १६ लाख ९० हजार ५ सय ८५ कित्ता सेयर रु १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७ सय ९२ मूल्यमा खरिद बिक्री भए । साताको अन्तिम दिनको कारोबारका आधारमा रु ४३ खर्ब २३ अर्ब ती लाख २७ हजार ६ सय २२ बराबरको बजार पूँजीकरण पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको सेयर उकालो लाग्दा ८ उपसमूहको सेयर भने ओरालो लाग्यो ।

२ दिन ओरालो लागेको नेप्सेमा सुधार आउँदा विभिन्न ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.