www.tandavnews.com
Fact ~ In search of truth

१ सय ५७ घरमा ‘एक घर, एक धारा’

ताण्डव

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १ सय ५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको हो ।

कालीगण्डकी गाउँपालिकाको रु २८ लाख २० हजार ३ सय ५९ र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु १० लाख गरी कूल रु ३८ लाख २० हजार ३ सय ५९ को लागतमा खानेपानी योजना निर्माण सम्पन्न भएको खानेपानी मर्मत तथा सरसफाइ परियोजना ‘वास’ का संयोजक भागिरथ अधिकारीले जानकारी दिए ।गाउँभन्दा २ किलोमिटर टाढा रहेको तातोपानी मूलबाट पानी ल्याई गाउँभन्दामाथि रहेको माझटोलमा ट्यांकी निर्माण गरी सोहीमार्फत् गाउँका प्रत्येक घरमा वितरण गरिएको संयोजक अधिकारीले बताए ।

Batas

मगर समुदायको बसोबास रहेको स्याङ्जाको सुदूरपश्चिम गुल्मी तथा पाल्पाको सिमानासँग जोडिएको लसर्घा बेंसीका नागरिकले स्थानीय ठाउँमा रहेका पानीको स्रोत कुवा, खोल्साखोल्सीका खानेपानीबाट तिर्खा मेट्दै आएका थिए । ‘यो योजना आउनभन्दा पूर्वको समयमा कुवा र खोल्साखोल्सीबाट पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यता थियो’, तातोपानी खानेपानीमर्मत तथा सरसफाइ योजनाका अध्यक्ष पदम थापाले भने, ‘त्यो पनि पर्याप्त थिएन घन्टौंसम्म लाइनमा बस्नुपथ्र्र्यो, शुद्ध थिएन तर नखाई नहुने स्थिति थियो ।’

घरघरमै खानेपानीको धारा जडान भएपछि जतिबेला पनि पानीको सहज पहुँच पुगेकाले पिउनदेखि गाईभैँसी तथा करेसाबारीमा पनि प्रयोग गर्न सकिने भएको अध्यक्ष थापाले बताए । प्रत्येक घरमा मिटर जडान गरिएको छ भने मर्मत तथा पानी खोल्ने बन्द गर्नका लागि २ जना कर्मचारी राखिएको छ ।

‘खानेपानीको जोहो गर्नका लागि गाग्री लिएर टाढा रहेको कुवामा जानुपर्ने बाध्यता हटेको छ’, अध्यक्ष थापाले भने, ‘घरघरमै धारा जडान भएर चौबिसै घन्टा पानी आउन थालेपछि यहाँका बासिन्दालाई सहज र सुविधा भएको छ, आँगनमै पानीको पहुँच पुगेपछि स्थानीय हर्षित पनि छन् ।’ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा खानेपानी तथा सिँचाइका लागि पानीको समस्या भएकाले गाउँपालिकाले खानेपानी तथा सिँचाइका लागि योजना अगाडि बढाइरहेको छ । केही निर्माण सम्पन्न भइसकेका छन् भने केही निर्माणको चरणमा रहेका वास संयोजक अधिकारीले बताए ।
रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.