www.tandavnews.com
Fact ~ In search of truth

तल्लो गगनगौंडाकाे झोलुंगे पुल निर्माण यस वर्षदेखि सुरु हुने

झोलुंगे पुलसँग जोडिएको समृद्धि

सुन्दा अनौठो लाग्न सक्छ, पुल भएका अवस्थामा ८/१० मिनेटमा हिँडेरै वडा कार्यालय पुग्नसक्ने पोखरा महानगरपालिकाभित्रै वडा नं ३२ तल्लो गगनगौँडाका स्थानीयवासी अहिले भने त्यहाँ जान झण्डै १ घण्टा हिँड्नुपर्ने बाध्यतामा छन् ।

लामो समयदेखि चर्चामा रहेर पनि बन्न नसकेको तल्लो गगनगौंडाको बाह्रसय चौतारा क्षेत्रको नवीन टोलबाट मालमूल फाँटको स्यालतहरा जोड्ने झोलुंगे पुल निर्माणका लागि गत वर्ष विस्तृत आयोजना प्रतिवेदन ‘डिपिआर’ तयार भएपछि अब बन्ने आशा जगाएको छ । यस क्षेत्रका लागि वडा कार्यालय जोड्नका लागि झेलुंगे पुल अपरिहार्य भएका अवस्थामा यस वर्षदेखि काम सुरु हुन्छ भन्ने कुराले आफूहरूलाई हर्षित बनाएको नवीन टोल विकास संस्थाका संस्थापक अध्यक्ष मुकुन्द घिमिरेले बताए ।

Batas

‘तल्लो गगनगौँडा क्षेत्रका स्थानीयवासी पुलको अभावमा वडा कार्यालयसम्म आधा घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यतामा छन्’, उनले भने, ‘पुल निर्माण सम्पन्न भएमा बाटो छोटिएर ८/१० मिनेटमा पुग्न सकिनेछ ।’ कृषिजन्य उत्पादनमा तल्लो गगनगौंडा, राजाचौतारा, मालमुल, देउराली आदि स्थान अब्बल मान्निछन् । तरकारीका साथै तेलहनको राम्रो उत्पादन हुने यस स्थानमा पुल बन्न सकेमा उत्पादित वस्तुको बिक्रीवितरणका लागि बजारसँग सहज पहुँच बढाउन सकिन्छ । तल्लो गगनगौँडा हुँदै पोखरा–काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग गएको हुँदा पनि यस क्षेत्रका कृषिजन्य उत्पादनको सहज बजारीकरणका लागि पुल अपरिहार्य भएको स्थानीय युवा नवराज घिमिरेले बताए ।

पुल निर्माणस्थल रहेको क्षेत्र स्यालतहरामा गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी विश्वविद्यालयले पनि आफ्ना शैक्षिक कार्यक्रम सुरु गर्न लागेका अवस्थामा गगनगौँडा क्षेत्रबाट अध्ययनका लागि जाने विद्यार्थीका लागि पनि पुल अपरिहार्य भएको उनको भनाइ छ । ‘गण्डकी विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीका साथै वडाका विभिन्न काम लिएर आउने सर्वसाधारणलाई लक्षित गरी यथासक्य पुल निर्माणको कार्य अघि बढाउनुपर्ने देखिन्छ’, उनले भने, ‘संघीयताको मर्म र भावनाअनुरुप सेवाग्राहीलाई नजिकबाट सेवा प्रवाह गर्ने सरकारको लक्ष्यलाई साकार पार्न पनि पुलको निर्माणकार्य अविलम्ब सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।’

तल्लो गगनगौँडाको लामे आहाल क्षेत्रमा निर्माण गर्ने भनिएको प्रदेश क्षेत्रीय बसपार्कका साथै भरतपोखरीको पुडिटारमा निर्माण गर्ने भनिएको प्रदेश औद्योगिक क्षेत्रसँग राजाचौतारा, मालमूल, बडहरे, सातमुहाने, डाँडा गाउँ, ढोडबेँसी, देउरालीलगायत स्थानको सिधा र सहज सम्पर्कका लागि पनि यहाँ झोलुंगे पुल अपरिहार्य ठानिएको छ । तल्लो गगनगौँडाबाट वडा कार्यालय जोड्ने गरी निर्माण गर्न लागिएको झोलुंगे पुल यस क्षेत्रको समृद्धि र विकासका लागि महत्वपूर्ण बन्ने पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए ।

विस्तृत आयोजना प्रतिवेदन ‘डिपिआर’ अनुसार कूल २ सय ९० मिटर लम्बाइमा यो पुल बन्न लागेको उनले जानकारी दिए । गण्डकी विश्वविद्यलायको पठनपाठ सुरु हुने तयारी भइसकेको र तल्लो गगनगौंडा र आसपासका क्षेत्रबाट वडा कार्यलयसँगको पहुँच सहज बनाउनका लागि पनि पुल निर्माण कार्यलाई चाँडो अघि बढाउनुपर्ने देखिएको उनले बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.