www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभामा आज पनि एमालेको अवरोध कायमै

काठमाडौँ
राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा ‘एमाले’ को अवरोध कायमै रहेको छ ।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद भैरवसुन्दर श्रेष्ठलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएको थियो । सांसद श्रेष्ठले दलीय आधारमा निर्वाचित सांसदलाई दलको निर्देशन नमान्दा आफ्नो दलले गरेको कारबाहीको सिफारिसलाई सभामुखले कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको बताए । उनले दलको निर्देशन नमान्ने १४ सांसदलाई कारवाहीको सिफारिस गरे पनि सभामुखले लामो समयसम्म कार्यान्वयनमा नलगी एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाए ।

उक्त विषयमा प्रतिनिधिसभाका सभामुखले कुनै किसिमको गल्ती महसुस नगरेको तथा अझैसम्म पनि चित्तबुझ्दो जवाफ नदिएकाले जवाफ नआएसम्मका लागि सदनका कामकारवाही अगाडि नबडाइयोस् भन्दै सांसद श्रेष्ठले सभाअध्यक्ष तिमल्सिनालाई आग्रह गरेका थिए ।

Batas

अध्यक्ष तिमल्सिनाले प्रतिनिधिसभासँग सम्बन्धित विषय भए पनि बैठकमा कुरा उठ्नु स्वभाविक भएको र यो विषय समयसँगै निरुपण हुने बताए । एमालेका सांसदलाई अवरोध नगरी बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दासमेत उनीहरुले उभिएर विरोध जनाएपछि अध्यक्ष तिमल्सिनाले भने कार्यसूचीलाई अगाडि बढाएको थियो ।

बैठकमा अवरोधकैबीच विधान व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङकोतर्फबाट समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगन गरिएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.