www.tandavnews.com
Fact ~ In search of truth

पोखरा: जनगणनामा मिडिया संवेदनशील हुनुपर्नेमा विज्ञहरुको जोड

जिवन सुवेदी
पोखरा/ताण्डव न्यूज

राष्ट्रिय जनगणनाका क्रममा आमसञ्चार माध्यमले दिने सूचना तथ्यपरक र प्रभावकारी हुनुपर्नेमा पोखरामा आयोजित कार्यक्रममा जोड दिईएको छ । केन्द्रिय तथ्याङ्क विभागले आयोजना गरेको राष्ट्रिय जनगणनामा मिडिया सम्बेदनशीलता विषयक कार्यशाला गोष्ठिमा सहभागी विज्ञहरुले यस्तो धारणा राखेका हुन् ।

सहजीकरणका क्रममा बोल्दै केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक नेविन लाल श्रेष्ठले जनगणना नभएको मुलुकमा सुशासन कायम हुन नसक्ने बताउँदै हरेक नागरिकहरुले गणनामा सहभागी हुनै पर्ने बताए । आम सञ्चार माध्यमबाट हुनसक्ने अफवाहयुक्त समाचारहरुका कारण अन्यौल हुने भएकाले समाचार सम्प्रेषणका क्रममा पत्रकार संवेदनशील हुनैपर्ने उनको भनाई थियो । जनगणनाका प्रकृयाहरुबारे आम नागरिकहरुलाई बुझाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

Batas

कार्यक्रममा अर्का सहजकर्ता मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले जनगणना जागरुकता निर्माणमा सञ्चारमाध्यमको भूमिका विषयबारे जानकारी गराए । यसपटकको जनगणनामा घरहरुको पनि विवरण लिईने र हरेक व्यक्तिहरुका हरेक विषेषता सोधिने भएकाले आम सञ्चार क्षेत्रले सकारात्मक कोणबाट समाचार सम्प्रेषण गर्नुपर्नेमा उनको जोड थियो । कतिपय सञ्चारमाध्यममा गलत समाचारहरु समेत प्रकाशन प्रशारण भैरहेको उदहारण प्रस्तुत गर्दै पन्तले देशको भविष्यसंग जोडिएका सवालहरुमा मिडिया समेत सतर्क रहनुपर्ने उल्लेख गरे । मिडियाले तथ्यहरुको विष्लेशण, लेख रचना तथा विचार सामाग्रीको सम्प्रेषण र विषय विज्ञहहरुबाट जानकारी लिएर जनगणनासम्बन्धि समाचार तयार पार्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै केन्द्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले नेपालको विविधतामा जनगणना र संवेदनशीलता विषयमा सहजीकरण गरे । लामिछानेले नेपाल विविधतायुक्त मुलुक भएकाले यसको आफ्नै विषेषता रहेको बताउँदै नेपालको विविधतालाई सम्बोधन गर्नका निमित्त पनि जनगणनाको ठूलो महत्व रहेको बताए । विविधताका विषयलाई लिएर हुने गलत व्याख्या हुन नदिन मिडियाको भूमिका शशक्त हुनुपर्ने उनको भनाई थियो । कार्यक्रममा आमसञ्चारका विज्ञ यमबहादुर दुराले सूचनाको पहिचान, श्रोतको विष्लेषण, तथ्यको जाँच र विश्वसनीय पत्रकारिताबारे आफ्नो प्रस्तुति राखेका थिए । जातजाति र भाषाबारे पनि वास्तविक तथ्यांक संकलनका निम्ति गणकहरू पनि त्यति नै सचेत र गम्भीर हुन आवश्यक रहेको उनले बताए ।

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण भदौ ३० गतेदेखि चलिरहेको छ । यसपटक देशभर अनुमानित ७० लाख परिवारका ३ करोडभन्दा बढी जनसंख्याको गणना हुँदैछ  ।

यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ ।

विशेषतः जनगणनामा अपांगता, जन्मदर, मृत्युदर, बाल मृत्युदर, मातृ मृत्युदर, आदिको विवरण प्राप्त हुने भए पनि १२औं जनगणनामा सरकारले स्वास्थ्य क्षेत्रका केही सूचकहरुलाई प्राथमिकतामा राखेको छ । राष्ट्रिय जनगणनासँगै २०७८ मा आधारित मातृ मृत्यु अध्ययन गरिँदैछ भने यसपटकको गणनामा अनुवंशीय रक्तस्राव (हेमोफिलिया) भएका व्यक्तिको पनि गणना गर्ने भएको छ ।

नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ । यद्यपि, पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो । २००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ । हाल जनसंख्या बढेर ३ करोड ४६ हजार पुगेको तथ्यांक विभागको अनुमान छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.