www.tandavnews.com
Fact ~ In search of truth

संकटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्छुः गृहमन्त्री खाँण

बझाङ

गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताएका छन् ।

बाढीपहिरोका कारण भएको क्षतिको निरीक्षण गर्न बझाङको खप्तड छान्ना गाउँपालिकामा आएका मन्त्री खाँणले बाढीपहिरोका कारण बझाङलगायत डडेल्धुरा र बैतडीमा ठूलो जनधनको क्षति भएकाले यी जिल्लालाई तत्कालै संकटग्रस्त जिल्ला घोषणा गरेर पूर्वाधार निर्माणमा जोड दिने बताएको हो ।

Batas

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री खाँणले खप्तड छान्नाको ऐचेली बगरमा बाढीपहिरोबाट प्रभावित स्थानीय नागरिकसँग क्षतिबारे छलफल गरे । उनले प्रधानमन्त्री विदेशबाट फर्कीसकेपछि मन्त्रिपरिषद्को निर्णयबाट बझाङ, बैतडी र डडेल्धुरा जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले प्रभावित परिवारलाई प्रक्रिया पु¥याएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल राहत उपलब्ध गराउने जानकारी दिए । बाढीपहिरोपीडित नागरिकका लागि सरकारले तत्काल राहतका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्दै उनले सरकार नागरिकसँगै रहेकाले सबैलाई धैर्य भएर बस्न आग्रहसमेत गरे । मन्त्री खाँणले बाढीपहिरोमा परेर मृत्यु भएकाको परिवार र घरसमेत नष्ट भएका परिवारका लागि तत्कालै सरकारले प्रतिपरिवार रु ५० हजार दिने निर्णयसमेत गरिसकेकाले सो रकम लिनका लागि स्थानीयवासीलाई आग्रह गरे ।

कार्यक्रममा खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क रोकायाले पालिकामा भएको जनधनको क्षतिका बारेमा जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लामा भएको क्षतिका बारेमा मन्त्री खाँणलाई जानकारी गराएको थियो । जिल्लाको खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा भएको बाढीपहिरोबाट भएको क्षतिबारे मन्त्री खाँणले निरीक्षण तथा अवलोकन गरेका छन् ।

गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म भएको बाढीपहिरोबाट जिल्लामा १२ जनाको मृत्यु भएको थियो भने १९ जना बेपत्ता भएका थिए । बाढीपहिरोबाट हजारौं हेक्टर जमिन बगरमा परिणत हुनाका साथै झण्डै एक सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.