www.tandavnews.com
Fact ~ In search of truth

वर्षाले अन्नबालीमा मात्रै बैतडीमा २ करोड बढीको क्षति

बैतडी

अविरल वर्षाका कारण बैतडीमा २ करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सो क्षति भएको हो ।

जिल्लाका १० स्थानीय तहहरुमध्ये ६ स्थानीय तहको विवरण संकलन गरिएकोमा १ हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिगास , शिवनाथ,सुर्नया, दोगडाकेदार गाउँपालिका र दशरथचन्द र पाटन नगरपालिकाबाट संकलित बन्नबाली क्षतिको तथ्यांकअनुसार एक हजार ३२० मेट्रिक टन अन्नबाली र तरकारी बालीमा क्षति भएको हो ।

Batas

जिल्लाका अन्य स्थानीय तहहरुमा भएको क्षतिबारे विवरण संकलनको काम भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने, ‘वर्षाले आवातजावत गर्न बाटोसमेत नहुँदा क्षतिको विवरण संकलन गर्न ढिलाई भएको हो ।’ जिल्लाको सिगासमा सबैभन्दा बढी क्षति भएको जनाइएको छ । सिगासको ढुंगाड र थलाकडामा मात्रै १ हजार १०० मेट्रिक टन अन्नबालीमा क्षति गुगेको जिप्रकाले जनाएको छ । यसका साथै क्षतिको विवरण संकलन भएका स्थानीय तहहरुमा ३० घरमा पूर्ण र ४५ घरमा आंसिक क्षति पुगेको छ । यस्तै ३ वटा झोलुङ्गे पुल, २ विद्यालय, २४ सिँचाइ आयोजना, १५ सडकमा क्षति पुगेको छ । भौतिक संरचना गरेर यहाँ १अर्ब बढीको क्षति भएको अनुमान गरिएको छ ।

तथ्यांक संकलन काम सम्पन्न गरी कृषकलाई उचित राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पठाइने जनाइएको छ । किसानले भित्र्याउन नपाएको धानबालीमा क्षति पुगेको हो । धान उत्पादनको पकेट क्षेत्रमा नै अन्नबालीमा ठूलो क्षति भएपछि भोकमरी हुने भन्दै किसान चिन्तित भएका छन् । उक्त वर्षाका कारण पहिरोले घर पुरिँदा जिल्लाको शिवनाथका ३ र सुर्नयाका १ जनाको ज्यानसमेत गएको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.