www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका २२ सय कोभिड प्रभावितले सरकारको राहत पाउने

आम्दानीका स्रोत गुमाएका परिवारलाई रु १० हजार नगद सरकारले दिने

पर्वत

पर्वतका झण्डै २ हजार २०० कोभिड– १९ प्रभावित परिवारले सरकारको सहयोग पाउने भएका छन् ।

जिल्लाका ७ वटा स्थानीय तहका २ हजार १८८ कोरोना प्रभावित परिवारले सरकारबाट राहत रकम पाउने भएका हुन् । कोभिड–१९ का कारण रोजगारी तथा आम्दानीका स्रोत गुमाएका परिवारलाई रु १० हजार नगद दिने सरकारको निर्णयअनुसार पर्वतका २ हजार १८८ परिवारले राहत पाउने भएका हुन् ।

Batas

जिल्लाका स्थानीय तहहरुबाट वितरण हुने उक्त सहयोगका लागि आवेदन दिन सूचनासमेत प्रकाशन भएको छ । पर्वत जिल्लाको जलजला गाउँपालिकाका ४४६, मोदीका ३११, कुश्मा नगरपालिकाका ५२८, फलेवास नगरपालिका ३८६, महाशिला गाउँपालिकाका १४४, बिहादीका १७९ र पैंयुँ गाउँपालिकाका १९४ परिवारले राहातस्वरुप उक्त रकम पाउने भएका हुन् ।

गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार १ महिनाभित्र पीडितको खातामा उक्त रकम जाने गरी व्यवस्था भएको छ । अनुदान प्राप्त गर्न मापदण्डभित्र पर्ने परिवारका कुनै एक सदस्यले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफू स्थायी वा अस्थायीरूपमा बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा कार्यविधिको ढाँचामा निवेदन पेश गर्नुपर्नेछ ।

जिल्लाका ७ वटै स्थानीय तहले सहयोग पाउन योग्य हुनेको सूचीसहित सूचना प्रकाशन गरिसकेकोे बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिए । कार्यविधिअनुसार विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोगार भएका असंगठित क्षेत्रका मजदुर वा कामदारले उक्त नगद सहयोग पाउने छन् ।

खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोकोमा सामान बेच्ने अतिविपन्न व्यवसायीले पनि पाउने छन् । नगद सयोग पाउनेमा दैनिक ज्यालादार भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया पनि पर्नेछन् । कोभिड संक्रमणको कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नुपरेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालिगको स्याहार गर्ने परिवारले पनि उक्त रकम प्राप्त गर्न सक्ने छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.