www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस कास्कीको सचिव पदका लागि सिरोजविजयले उम्मेद्वारी दिने

पोखरा ताण्डव न्यूज

नेपाली कांग्रेस कास्कीको आसन्न महाधिवेशनमा पार्टीको जिल्ला सचिवमा युवा नेता सिरोजविजय कोइरालाले उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा शनिबार पत्रकार सम्मेलन आयोजना गरी कोईरालाले आफूले उम्मेद्वारी दिन लागेको बताए ।

पार्टीभित्र परिवर्तन तथा नयाँ पुस्ताका निम्ति आफ्नो उम्मेदवारी भएको कोइरालाको भनाई थियो । उनले पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तिमा कांग्रेसलाई रसातलबाट झिक्न, पुनः युवाहरूको ढुकढुकी बनाउन नयाँ जोश र जाँगरसहित उम्मेदवारी प्रस्तुत गरेको उल्लेख गरेका छन् । ‘अझै पनि हामी कांग्रेसका शुभचिन्तकहरू नबिउँझने हो भने नयाँ नेतृत्व चयनमा विवेक नपुर्याउने हो भने कांग्रेस सक्किने छ । यो तय छ । अहिलेको नेतृत्व पंक्ति कायमै रहने हो भने कांग्रेस सक्किने छ,’ उनले भनेका छन् ।

Batas

कांग्रेसलाई रसातलबाट झिक्न, पुनः युवाहरूको ढुकढुकी बनाउन नयाँ जोश र जाँगरसहित मैले उम्मेदवारी प्रस्तुत गरेको छु ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा कोइरालाले पोखरा महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर उनी पराजित भए । त्यतिबेला आफ्नो पार्टी कांग्रेसमात्रै नभई सबै पार्टीले महानगरलाई आवश्यक उम्मेदवार दिन नसकेकैले आफूले उम्मेदवार दिएको प्रष्टोक्ति कोइरालाको छ ।

कोइरालाको प्रेस विज्ञप्तिको पूर्णपाठः

७ सालको क्रान्ति गरेर राणा शाही फाल्ने कांग्रेस ।

दुई तिहाई ल्याएर सरकार बनाएर क्रान्तिकारी मुद्दा बोकेको कांग्रेस ।

२०३६ र २०४६ सालमा राजालाई झुक्न बाध्य बनाएको कांग्रेस ।

२०६२÷६३ सालमा अनवरत जनअधिकार खोस्ने शाह–राज फ्याँकेर गणतन्त्र ल्याउने माओवादी आतंकलाई मत्थर पार्ने कांग्रेस ।

यत्रा युगान्तकारी परिवर्तन ल्याएको कांग्रेस, आम जनताको ढुकढुकी रहेको कांग्रेस, किन खुम्चिएर २०–२१ सिटमा झर्यो ?

सधैं लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गरी अग्रपंक्तिमा रहने कांग्रेस सँधै कास्कीमा किन निर्वाचनमा पराजित हुँदै आएको छ ?

किन नयाँ पुस्तामा, युवा पुस्तामा कांग्रेस पुग्न सकेको छैन ? पहिलो र दोस्तो पुस्ताका कांग्रेसीहरूको क्रमशः निधनसँगै के कांग्रेस निमिट्यान्न नहोला ? कि भारतमा भारतीय कांग्रेसको जस्तै स्थिति नेपालमा नेपाली कांग्रेसको होला ?

नेपाली कांग्रेस इतिहासको कठिन मोडबाट गुज्रिरहेको छ।

हुन त हाम्रा ७–८ लाख क्रियाशिल सदस्य छन् भनेर कांग्रेस नेतृत्वले भन्ने होला । तर ती कस्ता क्रियाशील सदस्य हुन् ? तिनले के काम गर्छन् ? कहिले, के गर्न क्रियाशील हुन्छन् ?

चुनावको समयमा मतदान गर्नु मात्रै क्रियाशील हुनु हो ?

के नेतृत्वले आफ्ना कथित क्रियाशीललाई कुनै “काम” दिएको छ ?

के आफ्ना कार्यकर्तालाई संरक्षण गर्न सकेको छ ?

के अहिले कांग्रेसले कुनै मुद्दामा स्पष्ट विचार राखेको छ ? देश विकासको खाका प्रस्तुत गरेको छ ? के मुलुकको एजेण्डा सेटर कांग्रेस हो ? कि अरूले पस्केका एजेण्डामा प्रतिक्रिया दिएर ‘अथवा कहिले त्यो पनि नदिएर’ मात्र बसेको छ कांग्रेस ? उसको दायित्व होइन एजेण्डा सेट गर्ने ? कि पिछलग्गु भएर बस्ने हो ?

पार्टीलाई हाँक्ने भनेको विचार र संगठनले हो । तर कांग्रेस संगठनका हिसाबले जुम्सो छ। अनि विचारका हिसाबले खोक्रो छ। तसर्थ समस्त कांग्रेसजनले आफ्नो महाधिवेशन जस्तो महायज्ञको पूर्वसन्ध्यामा गहन चिन्तन र मनन गर्न जरुरी छ । मन्थन गर्न जरुरी छ। आउँदा दिनमा नेपाली कांग्रेसलाई कता लग्ने ? अनि नेपाली कांग्रेसमार्फत देश र जनतालाई के गर्ने ?

अहिले साधारणभन्दा साधारण मानिसका मूल सरोकारका मुद्दा के हुन् ? ती मुद्दामा कांग्रेसको स्ट्याण्ड के हो ? अहिले साधारण भुइँमान्छेका तीन सरोकार छन् । एक, उसका छोराछोरीलाई कसरी राम्रो शिक्षादीक्षा दिने । दुई, घरमा विरामी पर्दा ओखतीमुलो गर्ने । तीन, वातावरण क्षय नहुने गरी भौतिक विकास गर्ने ।

यी सरोकारहरूलाई कसरी सम्बोधन गर्ने हो कांग्रेसले ? निजी शिक्षा कि सार्वजनिक शिक्षा ? निजी अस्पताल कि सार्वजनिक अस्पताल ? शिक्षा र स्वास्थ्य सरकारको दायित्व कि नागरिकको ?

सबै कुरा नागरिकले पकेटबाट खर्च गर्नैपर्ने हो भने उसले खाइ–नखाइ तिरेको करबाट हुन्छ के ? त्यो कर जान्छ कहाँ ? के कर्मचारी र नेता पाल्न मात्र जनताले कर तिर्ने हो ? आफ्ना बालबच्चालाई सकीनसकी पढाएर अर्काको मुलुकमा गुलामी गर्न पठाउने, अनि तिनले पठाएको रेमिट्यान्समा नेता–दलालले रजाइँ गर्ने हो ?

जिन्दगी भर विदेशीको गुलामी गरेर फर्कने नेपालीलाई बुढेसकालमा कस्ले पाल्ने हो ? हेरचाह गर्ने हो ? यी कांग्रेसले सोच्नुपर्ने राष्ट्रिय मुद्दाहरू होलान् । हाम्रा स्थानीय मुद्दा पनि छन् । हाम्रो स्वर्गको टुक्रा जस्तो शहरलाई कसरी संरक्षण गर्ने हो ? कसरी करको भारबाट रोकेर कास्की वासीहरूलाई सुख र समृद्धि दिने हो ? विकास दिने हो ? अनि कांग्रेसलाई युवा पुस्ताको ढुकढुकी कसरी बनाउने ? उनीहरूलाई कांग्रेसप्रति विश्वासी कसरी बनाउने ?

यी सबै मुद्दा छन् । र यी मुद्दामा हाम्रो न स्थानीय न राष्ट्रिय नेतृत्वले केही छलफल गरेको छ ?

यदि अझै पनि हामी कांग्रेसका शुभचिन्तकहरू नबिउँझने हो भने नयाँ नेतृत्व चयनमा विवेक नपुर्याउने हो भने कांग्रेस सक्किने छ । यो तय छ । अहिलेको नेतृत्व पंक्ति कायमै रहने हो भने कांग्रेस सक्किने छ।

कांग्रेसलाई रसातलबाट झिक्न, पुनः युवाहरूको ढुकढुकी बनाउन नयाँ जोश र जाँगरसहित मैले उम्मेदवारी प्रस्तुत गरेको छु ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.