www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस १४औँ महाधिवेशन : पदाधिकारी र सदस्यका लागि मतदान सुरु

काठमाडौँ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । काँग्रेसका नेता कूलबहादुर गुरुङ्ले पहिलो मत खसालेका छन् । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो ।

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण केहीबेरअघि मात्रै मतदान सुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।

Batas

प्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको हो । मतदाता बिहानैदेखि लामबद्ध भइसकेका छन् । मतदान हुने तीनवटै मतदान केन्द्रमा मतदाता बिहान सबेरैदेखि लामबद्ध भएका हुन् । बिहान ८ बजे मतदानको समय तय गरिएकाले मतदाता बिहानैदेखि लाइनमा बसेका हुन् । भृकुटीमण्डप परिसरमा पार्टी सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजासहित प्रचार–प्रसार गरेर मत मागिरहेका छन् । लामबद्ध प्रतिनिधिसँग उम्मेदवारले आफ्नै मत मागिरहेका छन् ।

आइतबार अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको समितिले रातभरि मतपत्र छपाईलगायतका काम गरी मतदानको सम्पूर्ण तयारी गरेको जनाएको छ । मतदानका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । मतदाताको सङ्ख्या बढी भएकाले मतदानमा सहजताका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको समिति सदस्य एकराज पोखरेलले जानकारी दिए ।

महाधिवेशनस्थलको राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ÷शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ । यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।

सबै पद र क्लष्टरअनुसार विभिन्न २९ प्रकारका मतपत्र हुने बताइएको छ । सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको छ । निर्वाचन तालिकामा मतदान बिहान ८ देखि ५ बजेसम्म हुने उल्लेख गरिए पनि राति ८ बजेसम्म सम्पन्न हुने समितिको अनुमान छ ।

सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदानस्थलमा नै प्रकाशन गरिने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

सभापतिबाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका सिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ । सभापति पदबाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ । यसैगरी मतदानस्थल (भृकुटीमण्डप/राष्ट्रियसभा गृह) भित्र मोबाइल फोन लिएर जान नपाइने आचारसंहितामा जारी गरिएको छ ।

समितिका अनुसार सभापति पदमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन् । उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह र पूर्णबहादुर खड्का उम्मेदवार छन् । यसैगरी महामन्त्रीमा डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्की उम्मेदवार छन् ।

सहमहामन्त्रीमा भने मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदेङ्वे, चेतराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्याय उम्मेदवार रहेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ ।

पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.