www.tandavnews.com
Fact ~ In search of truth

बौरदै बागलुङको पर्यटन व्यवसाय

गलकोट, खेमराज गौतम

२ वर्षदेखि पर्यटकले नभरिएका पर्यटकीय क्षेत्र, सुनसान बनेका होटल तथा यात्रुले नभरिएका सवारीसाधनमा अहिले चहलपहल देखिएको छ ।

कोरोनाले धकेलिएर सरेका राजनीतिक दलको महाधिवेशन, सभा समारोह, विवाह उत्सव, शैक्षिक भ्रमण अहिले धमाधम हुँदा बागलुङको पर्यटन व्यवसाय चलयमान देखिएको छ । राजनीतिको अधिवेसन, सभासम्मेलन, विवाह र अवलोकन भ्रमणलगायतका कार्यक्रमले सवारीसाधनलाई यात्रु ओसार्न भ्याइनभ्याइ छ ।

Batas

होटल भरिभराउ छन् भने पर्यटकीस्थल खचाखच भइरहेका छन् । अहिले जिल्लाका पर्यटकीयस्थलको अवलोकन भ्रमणका लागि पोखरा, चितवन, गोर्खा, काठमाडौँलगायतका जिल्लाबाट बागलुङ आउने क्रमसमेत चल्दा बागलुङमा सुस्ताएको पर्यटन व्यवसाय लयमा फर्केको छ ।

एक महिना अघिदेखि नेपालका साना ठूला दलका अधिवेशन चल्दा नेता कार्यकर्ता गाउँ–गाउँबाट सहर केन्द्रित भएका छन् । दलहरुले सभासम्मेलनका नाममा लाखौं रुपैयाँ खर्चसमेत गरिरहेका छन् । मुख्यतया राजनीतिका कारण बागलुङ चलायमान भएको छ ।

यात्रु नपाएर खाली हुने सवारीसाधनमा अहिले यात्रुको निकै चाप रहेको छ । कतिपय दलले नेता कार्यकर्ता ओसार्न सवारीसाधनको व्यवस्था र खान बस्नका लागि होटलको व्यवस्थापन समेत गरिरहेका छन् । अहिले कालिका मन्दिर परिसरमा अवलोकन भ्रमण ब्यानरसहितका थुप्रै सवारीसाधन देख्न पाइन्छ ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा ‘एमाले’, ‘माओवादी’ केन्द्रका वडा, पालिका अधिवेशनले बागलुङ बजार चलयमान भएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताए । “पर्यटकीय क्षेत्र, होटल व्यवसाय, यातायात व्यवसाय अहिले फष्टाएको पाएका छौं”, राजभण्डारीले भने, “राजनीतिका कारण मात्र नभएर पर्यटकीय सिजन, मुस्ताङ जाने पर्यटक र कुस्माको बञ्जी पुलमा आउने पर्यटकसमेत यहाँ आउने गरेका छन्, अहिले यहाँको व्यापार तथा व्यवसाय फष्टाएको छ ।”

अहिले कालिका मन्दिर परिसरमा पर्यटक बोकेका सवारीसाधनको निकै चाप रहेको छ । दुई वर्षदेखि थला परेको यातयात व्यवसाय लयमा फर्कन लागेको यातायात व्यवसायी बताउँछन् । यो एक महिनामा बागलुङ बजारका सबै होटल भरिएको हामीले जानकारी पाएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । उनले ठूला दल कांग्रेस, एमाले, माओवादीलगायतको अधिवेशनको समयमा होटलमा कोठासमेत नपाएको बताए ।

कालिका मन्दिर, पञ्चकोट, लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालयमा पर्यटक ह्वात्तै बढेको पाइएको छ । बजारमा अधिवेशनलगायतका कार्यक्रममा आएका नेता कार्यकर्तासमेत फूर्सदमा पर्यटकीयस्थल पुगेको देखिन्छ । अहिले कालिका मन्दिर दर्शनका लागि विभिन्न जिल्लाबाट धार्मिक पर्यटक आउने क्रमले तीव्रता पाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

गतवर्ष भन्दा यसवर्ष कालिका भगवती मन्दिरमा धार्मिक पर्यटकको आगमनमा वृद्धि भएको पाइएको खड्काको भनाइ छ । “गतवर्ष कोरोनाको प्रभावले खासै पर्यटक आएका थिएनन्, ६ महिना त कालिका मन्दिर बन्दनै गर्नुपरेको थियो”, खड्काले भने, “दुई वर्षदेखि दर्शन गर्न नपाएका पर्यटक, मुक्तिनाथ दर्शनमा हिँडेका पर्यटक र कुस्माको बञ्जी पुलको अवलोकनका लागि आएका पर्यटक कालिका मन्दिर दर्शन गर्न आउने गर्दा अहिले निकै चाप रहेको छ ।”

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.