www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेसका ५ सहमहामन्त्रीको मतगणना हुँदै

काठमाडौँ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी पाँच क्लस्टरको सहमहामन्त्री पदको मतगणना आज हुँदैछ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केहीबेरपछि सहमहामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको छ । कांग्रेसका महामन्त्री पदको आठ क्लस्टरमध्ये तीनको बिहीबार मतपरिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना हुन लागेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ । महिला, दलित र आदिवासी जनताति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणामअनुसार महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएको थियो । सहमहामन्त्री पदका बाँकी पाँच क्लस्टरमध्ये अब खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्लस्टरको मतगणना हुनेछ ।

Batas

खसआर्य समूहमा किशोरसिंह राठोर, देवराज चालिसे, मधेसी क्लस्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा छन् । थारु क्लस्टरको सहमहामन्त्रीमा उमाकान्त चौधरी, तेजुलाल चौधरी तथा मुस्लिम क्लस्टरबाट फरमुल्लाह मन्सुर र शेख वकिल चुनावी प्रतिस्पर्धामा छन् । त्यसैगरी पिछडिएको समूहबाट जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट सभापतिमा शेरबहादुर देउवा विजयी भए भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भए । त्यस्तै महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भए । महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत अब सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना बाँकी छ । कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.