www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा क्लब च्याम्पियनसिप महिला-पुरुष राष्ट्रिय भलिबलको तयारी

कास्की

पर्यटकीय सहर पोखरामा दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला-पुरुष भलिबल प्रतियोगिता’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक टाइगर ग्रुप पोखराले आज पोखरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिइएको हा । यही पुस २६ देखि आगामी माघ १ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा आयोजना गरिएको प्रतियोगिताको सहभागी टोली आउन सुरु भएको र तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी गराइयो ।

Batas

प्रतियोगिताले नेपालको राष्ट्रिय खेल भलिबलको विकाससँगै आगामी दिनमा पोखरालाई अन्तर्राष्ट्रिय भलिबल केन्द्रका रुपमा विकास गर्न मद्दत पुग्ने विश्वास आयोजकको छ । प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच/पाँच टोलीको सहभागिता रहने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले बताए ।

प्रतियोगितामा महिलातर्फ विभागीय टोलीहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी र आयोजक संस्था टाइगर ग्रुप अफ पोखराको टोली सहभागी हुनेछन् । पुरुषतर्फ विभागीय टोलीहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी क्लबको एपिएफ क्लबसहित टिपटप हेल्पलाइन स्पोर्टस क्लब र गण्डकी प्रदेश टोलीको सहभागिता रहने जनाइएको छ । अध्यक्ष शर्माका अनुसार ‘राउन्ड रोविन लिग’का आधारमा प्रतियोगिता सञ्चालन हुनेछ ।

विजेतालाई दिइने पुरस्कार राशिमा अघिल्लो संस्करणमा भन्दा दोब्बरले वृद्धि गरिएको प्रतियोगिताका प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेतालाई ट्रफीसहित रु तीन/तीन लाख, उपविजेता महिला तथा पुरुष टोलीलाई समान रु एक लाख ५० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । त्यस्तै तृतीय हुने टोलीलाई समान रु ७५/७५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने महिला-पुरुष दुवै टोलीलाई समान रु २५/२५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी, हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १० हजारका दरले पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आयोजकका तर्फबाट सहभागी महिला टोलीको नेतृत्व नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा शाहीले गर्नुहुने भएको छ । सो टोलीमा श्रीलङ्काको महिला भलिबल टोलीका क्याप्टेनसहित तीनजना खेलाडीहरुको सहभागिता रहने प्रचार संयोजक ज्ञवालीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार दिउँसो १ बजे पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लब आमनेसामने हुने प्रतियोगिता संयोजक शिव श्रेष्ठले जानकारी दिए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.