www.tandavnews.com
Fact ~ In search of truth

निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ : महामन्त्री थापा

काभ्रेपलाञ्चोक ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गरे ।

“कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निक्र्योल गर्ने हो, यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिन्छ”, थापाले भने । केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उनले बताए । उनले भने, “निर्वाचन सरकारले तोकिएकै समयमा हुन्छ, कसैले हुन्न भन्ने हल्ला गरेर नहुने होइन, ढुक्क हुनुस् सरकार निर्वाचन गर्न तत्पर छ ।”

Batas

नेता थापाले टोल समितिले पार्टी बलियो हुने बताए । उनले पार्टी सङ्गठनको सबैभन्दा तल्लो निकाय टोल समिति रहेकाले सबैभन्दा बलियो बनाउनुपर्ने उल्लेख गर्दै टोलटोलमा कांग्रेसको समिति बनाएर पार्टीलाई बलियो बनाउन निर्देशनसमेत दिए । “टोलटोलमा कांग्रेसलाई क्रियाशील बनाउन जरुरी छ, यसले मात्रै पार्टी बलियो हुन्छ”, उनले दोहोर्याए ।

नेता थापाले प्रधानन्यायाधीश चोेलेन्द्रशम्सेर राणाविरुद्धको महाअभियोग स्वाभाविक रहेको बताए । उनले भने, “उहाँमाथि थुप्रै आरोप छन्, न्यायालयलाई ध्वस्त पार्ने उहाँकै भूमिका हो ।” उनले आफू निकै अघिदेखि प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको पक्षमा रहेको दाबीसमेत गरे ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले फागुन १ गतेदेखि वडास्तरमा सङ्गठन विस्तार अभियान सञ्चालन गरिरहेको छ । ७ गतेसम्म सङ्गठन विस्तार अभियानअन्तर्गत वडास्तरमा भातृ सङ्गठन विस्तार, सदस्यता वितरण तथा टोल समितिसमेत गठन गर्ने जनाइएको छ । पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउने अभियानअन्तर्गत नै जिल्लाका छ नगरपालिका र सात गाउँपालिकाको १३५ वडामा सङ्गठन विस्तार गरिने उपाध्यक्ष रमेशप्रसाद हुमागाईँले जानकारी दिए ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.