www.tandavnews.com
Fact ~ In search of truth

मनाङमा हेलिकोप्टरमार्फत् विद्युत्का सामग्री ढुवानी

मनाङ

विकट हिमाली जिल्ला मनाङमा बाढीपहिरोका कारण ३ महिनादेखि सडक पूर्णरुपमा अवरुद्ध छ । भत्किएका सडक मर्मत तथा निर्माणको काम नभएपछि यातायात, विद्युत्, सञ्चार क्षेत्र पूर्णरुपमा प्रभावित भएका छन् । लामो समयदेखि सडक सञ्जाल निर्माण नहुँदा दक्षिण कोरियामा रहँदै आएका मनाङको चामेवासी युवाको सहयोगमा हेलिकप्टर चार्टर गरेर जलविद्युत्का सामग्री ढुवानी गरिएको छ ।

३ महिनादेखि डुम्रे–बेँसीशहर–चामे सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । सडकमार्फत् सवारीसाधन मात्रै नभई बटुवासमेत आवतजावत गर्नसक्ने अवस्थामा छैन । लघु जलविद्युत् आयोजनामा निर्भर मनाङमा उज्यालोका लागि युवाले सहयोग पुर्याएका छन् । राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको विद्युत्मा पनि बाढीपहिरोले क्षति पुर्याएको छ । बाढीपहिरोले क्षति पुर्याएको जलविद्युत् मर्मतका लागि हेलिकप्टर चार्टर गरी आवश्यक सामग्री ढुवानी गरिएको समाजसेवी विनोद लामाले जानकारी दिए ।

Batas

चामे लघु जलविद्युत् आयोजना मर्मत तथा सम्भार र निर्माणका लागि हेलिकप्टर चार्टर गरी आवश्यक पाइपलगायत सामग्री ढुवानी गरिएको लामाले बताए । हेलिकप्टरमार्फत बेँसीशहरबाट सदरमुकाम चामेसम्म उक्त सामग्री ल्याइएको उनले बताए । गण्डकी प्रदेश सरकारबाट सरकारी कार्यालयको सेवा प्रवाहको सहजताका लागि सौर्य ऊर्जा जडान गरिएको छ तर सरकारी कामकाजका लागि सहज भए पनि सर्वसाधारण हालसम्म पनि अन्धकारमा रहँदै आएका छन् । चामेवासीलाई लघु जलविद्युत् आयोजना मर्मत भएपछि बिजुलीको उपलब्ध हुनेछ ।

लामो समयसम्म सौर्य ऊर्जाले धान्नसक्ने अवस्था नरहेकाले जलविद्युत् आयोजनाको निर्माणका लागि वैदेशिक रोजगारीमा रहेका चामेवासीले सहयोग पुर्याएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । उनले वैदेशिक रोजगारीमा दक्षिण कोरियमा रहनुहुने दाजुभाइ दिदीबहिनीप्रति आभार व्यक्त गरेको छ ।

सदरमुकाम चामेदेखि भ्राताङसम्म विसं २०७७ माघमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो । मनाङमा लमजुङको मस्यार्ङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सवस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामे–१ स्यार्कुस्थित सवस्टेसनमा जडान गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख इञ्जिनियर मिलन सुवेदीले लगातारको वर्षासँगै आएको बाढीपहिरोले मनाङस्थित प्रसारण लाइन मर्मत कार्य थालिएको बताए । उनकाअनुसार बाढीपहिरोले प्रसारणमा १ करोड ७० लाख बराबरको क्षति पुगेको छ ।

बाढीपहिरोले ३३ केभी लाइनको ८.४ किलोमिटरको १ सय १६ वटा खम्बा, ५.६ किलोमिटरको ११ केभी लाइनको ८८ वटा खम्बामा क्षति पुर्याएको छ । ४ सय भोल्टको ५१ खम्बामा क्षति पुगेको सुवेदीले बताए । यी स्थानमा हेलिकप्टरबाट मात्रै सामग्री ढुवानी गर्न सकिने भएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.