www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बर्ड फ्लु, संक्रमित क्षेत्रबाट फागुन २७ सम्म पंक्षी ओसारपसारमा निषेध

पोखरा
ताण्डव न्यूज ।

पोखरामा इभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) को संक्रमण फेला परेको छ । पोखरा १५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्डफ्लुको संक्रमण भेटिएको हो ।

फागुन ६ गते पोखरा १५ का खुसीमान गुरुङको फार्ममा रहेका कुखरा मर्न थालेपछि जिल्ला प्रयोगशालमा परीक्षणको लागि ल्याइएको थियो । परीक्षणपछि आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि काठमाडौं पठाएकोमा फागुन १५ गते संक्रमण भएको पृष्टी भएको हो । त्यस्तै पोखरा–१७ का खेमबहादुर क्षेत्रीको कुखुरा पनि परीक्षणपछि संक्रमण पुष्टी भएको हो ।

Batas

संक्रमण थप फैलिन सक्ने जोखिम रहेका कारण संक्रमण केन्द्रका रूपमा रहेका खोरहरूमा आउँदो चैत २९ गतेसम्म कुनै पनि प्रजातिका पंक्षी पालन गर्न र संक्रमित क्षेत्रबाट आउँदो फागुन २७ गतेसम्म कुनै पनि पंक्षी तथा पंक्षीजन्य पदार्थको ओसारपसार गर्न निषेध गरिएको छ ।

जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति कास्कीका सञ्चार अधिकृत डा. ग्रिष्म न्यौपानेका अनुसार बर्ड फ्लुको भाइरस २३ डिग्री सेल्सियस तापक्रममा मर्छ । कुखुराको खोरमा काम गर्ने र मासु काट्ने व्यक्तिले पन्जा, मास्क लगाउने गर्नुपर्छ ।

उनका अनुसार जिल्ला बर्डफ्लु नियन्त्रण कक्षका अनुसार संक्रमणको पुष्टि भएका दुवै क्षेत्रका ३९ घरमा रहेका तीन सय ८१ वटा स्थानीय जातका कुखुरा, १२ वटा हाँस, ५१ वटा बट्टाई, पाँच वटा टर्की, पाँच सय नौ वटा अण्डा, २२ किलोग्राम मासु, तीन सय ३२ किलोग्राम दाना र ३८ सय ५० किलोग्राम सुली नष्ट गरिएको छ ।

‘वर्ड फ्लु नियन्त्रण नियमावली, २०७८’ बमोजिम रोग नियन्त्रण गर्न जिल्ला वर्ड फ्लु नियन्त्रण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले चार किल्ला तोकी निषेधाज्ञा जारी गरिएको हो । तोकिएको क्षेत्रमा रहेका सबै घरपालुवा पक्षी तथा पक्षीजन्य पदार्थ नष्ट तथा निसंक्रमण गर्नको लागि ‘रेपिड रेस्पोन्स टिम’ खटिएर नियन्त्रणसम्बन्धी कामहरू गरिरहेको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.