www.tandavnews.com
Fact ~ In search of truth

बन्यो एयरपोर्ट तर स्थानीयमा देखिएन उत्साह

जीवन सुवेदी
पोखरा, ताण्डव न्यूज ।
निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गर्ने तयारी भईरहँदा विमानस्थल प्रभावित स्थानीय बासिन्दाहरु भने खुसी हुन सकेका छैनन् । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी हस्तान्तरण गर्ने कार्यक्रमका पूर्वसन्ध्यामा स्थानीयमा भने कुनै उत्साह देखिँदैन । खासगरी भलपानीको व्यवस्थापन, फोहोर व्यवस्थापन, र मुआब्जाका विषयमा स्थानीयको असन्तुष्टि देखिएको छ ।

विमानस्थल रहेको पोखरा १४ चाउथेका स्थानीय बासिन्दा गनेस पौडेलले आफूहरुका कुनैपनि मागमा विमानस्थल सकारात्मक नदेखिएकाले आजको हस्तान्तरण कार्यक्रम समेत बहिस्कार गरेको ताण्डव न्यूजलाई बताए ।

त्यस्तै स्थानीय प्रभावित बासिन्दा एवं वातावरणका अध्येता हेमन्त ढकालले विमानस्थल निर्माणले स्थानीयमा उमंग छाउन नसकेको प्रतिक्रिया दिए । उनले भने “ मुआब्जाका कुरा, बेलैमा क्षतिपूर्तिका कुरा, यस्ता कुराहरु आजसम्म पनि एड्रेस हुन सकिरहेका छैनन, त्यहि भएरपनि रिठ्ठेपानी डाँडा कटानमा समेत ढिलाई भईरहेको छ ।” स्थानीयका समस्या समाधान गर्न छाडेर हस्तान्तरणतर्फ लागेको भन्दै ढकालले भने “स्थानीयका माग पूरा नभइ विमानस्थल सञ्चालन गरियो भने भोलि एयरपोर्टलाई नै ठूलो घाटा हुनेछ ।”

Batas

घरछेउमै विमानस्थल बनेको छ । तर आफूहरु बत्तीमुनि अँध्यारो भनेजस्तै विकासका काममा पछि परेको स्थानीय सरस्वती कार्कीको गुनासो छ । वर्षायाममा बाढीले घरनै डुवाउने तर सिँचाई गर्न आवस्यक पर्ने बेला पानी नहुँने समस्या रहको उनको दुखेसो छ । “ हामीलाई सिञ्चाईको व्यवस्था गर्ने भनिएपनि हुन सकेको छैन, बाटो विग्रेको छ धुलो उडेको छ, हामी सँधै पीडितका पिडित, उनले भनिन् हामीलाई जो नेता आएपनि उस्तै रछ ।”

विमानस्थलले सुविधा भन्दापनि झन बढी सास्ती दिने हो कि भन्ने चिन्ता उनलाई छ ।

हाल विमानस्थलको करिब ९३ प्रतिशत मात्रै काम पूरा भएको निर्माण कम्पनीले जनाएको छ । उसो त जहाज उडान र अवतरणमा सहजताका लागि आवस्यक विमानस्थलको पूर्वमा रहेको रिठ्ठेपानी डाँडाको कटान सुरु भएको छैन । महानगरले ल्याण्डफिल साईट कहा स्थान्तरण गर्ने हो त्यसको पनि कुनै अत्तोपत्तौ छैन । तर विमानस्थल भने हस्तान्तरण गर्न सरकार हतारिएको छ ।

यतिबेला चिनिया विदेशमन्त्री वाङ यी नेपालमा छन् । उनी आएकै मौका छोपेर सरकारले विमानस्थल हस्तान्तरणको चाँजोपाँजो मिलाएको छ । तर सम्पन्न भएर स्थानीय सरोकारवाला पक्षलाई सन्तुष्ट पार्न तर्फ सरकारको ध्यान नगएको पोखरा १५ का स्थानीय कानून व्यवसायी दयाराम गौतम बताउँछन् । “विकास हुनु राम्रो पक्ष हो, विमानस्थल बनेकोमा पोखरेलीले गर्व गर्नुपर्छ उनले भने “तर विकासका नाममा जनतालाई अति नै मर्का पार्ने काम राज्यले गर्न हुँदैन ।”

विदेशमन्त्री यीले काठमाडौंमै चाबी हस्तान्तरण गरेपछि भर्चुअल रुपमा पोखराबाट समेत कार्यक्रम गर्न लागिएको आयोजना प्रमुख विनेश मुननकर्मीले बताए । हस्तान्तरण भैसकेपछि पनि बाँकी रहेको ७ प्रतिशत काम भने सूचारु रहने उनले बताए ।

चीनको एक्जिम बैंकको ऋण सहयोगमा चिनियाँ कम्पनी सिएएमसीले २०७३ सालदेखि विमानस्थल निर्माण सुरु गरेको थियो । २०२२ को जुलाई १० तारिकसम्म हस्तान्तरण गर्ने निर्माण कम्पनीको तयारी थियो । आज साँझ विमानस्थल परिसरमै औपचारिक कार्यक्रम गरेर विमानस्थलको साँचो हस्तान्तरण कार्यक्रम गरिने र प्रमुख अतिथिका रुपमा नागरिक उड्ययन मन्त्री प्रेम आले आउने बताईएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.