काठमाडौँ।
गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ ।
सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले राससलाई जानकारी दिए । पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो । च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो ।

गत वर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहर पखालेर पानी अहिले वाग्मतीमा छोडिएको छ । मेलम्चीको पानी छोडेपछि वाग्मतीको बहाव केही बढेको देखिन्छ । अहिले वाग्मती धमिलो पानी बढेको स्थानीयवासी रामप्रसाद पुडासैनीले बताए। गत वर्ष सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर मुहान क्षेत्रमा निर्माण गरिएको खानेपानीका संरचनामा क्षति पुगेको थियो । क्षति भएको संरचना पुनःनिर्माण गरी गत चैतमा सुरुङमा पानी हालिएको हो ।
मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ लिनुपर्ने उनले बताए। मेलम्चीको पानी सुन्दरीजल आएसँगै आज बिहान खानेपानी मन्त्री उमाकान्त चौधरीले अवलोकन गर्न कार्यक्रम रहेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।
रासस
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.