www.tandavnews.com
Fact ~ In search of truth

गठबन्धनका उम्मेदवारमा पुरुष बढी

बागलुङ।

सक्षम भएर पनि महिलाहरु स्थानीय तहको मुख्य पदमा आउनबाट रोकिएका छन् । गठबन्धनका नाममा उनीहरु उम्मेदवारी दिनबाटै वञ्चित हुनु परेको हो । सत्ता गठबन्धन दलबाट यहाँ एकजना मात्र महिला स्थानीय तहको प्रमुखमा उम्मेदवार छिन् । बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट गण्डकी थापा अधिकारी चुनावी मैदानमा छिन्।

सो गठबन्धनबाट बाँकी नौवटा स्थानीय तहका प्रमुख/उपप्रमुखमा पुरुष उम्मेदवार छन् । राजनीतिमा महिला सहभागिता बढाउन संवैधानिक रुपमै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनुपर्ने व्यवस्था भए पनि गठबन्धनका कारण महिलाको प्रतिनिधित्व खुम्चने भएको हो । जसले गर्दा कतिपय दलका महिला नेत्रीहरुमा असन्तुष्टि बढेको छ ।

पार्टीले टिकट नदिएपछि नेपाली कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि उषा पौडेलले सोमबार नेकपा (एमाले)बाट जैमिनी नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिइन्। कांग्रेसबाट पहिले जैमिनीको प्रमुखमा दाबी गरिरहेकी हरिहर शर्माले उपप्रमुखको टिकट ल्याएपछि पौडेल रुष्ट बनेकी थिइन्। उम्मेदवारी दर्तापछि उनले महिलाहरुले सक्दैनन् भनेर कांग्रेसले पाखा लगाएपछि आफूले एमाले राजेको प्रस्टीकरण दिएकी छन्।

जैमिनीको प्रमुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन उम्मेदवार बनेका छन्। जिल्लाकै जेठो नगरपालिका बागलुङमा पनि पाँचदलीय गठबन्धनबाट प्रमुख/उपप्रमुख दुवैमा पुरुष उम्मेदवार छन् । नेपाली कांग्रेसबाट वसन्तकुमार श्रेष्ठले प्रमुख र नेकपा (माओवादी केन्द्र)बाट राजु खड्काले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउका छन्। गलकोट र ढोरपाटन नगरपालिकामा पनि सत्ता गठबन्धनबाट पुरुष उम्मेदवार नै हाबी भएका छन् ।

गलकोटमा नेपाली कांग्रेसबाट भरत शर्मा गैरे प्रमुख र नेकपा (माओवादी केन्द्र)बाट फमलाल निउरे उपप्रमुखको उम्मदवार छन्। ढोरपाटनको प्रमुखमा माओवादी केन्द्रका तर्फबाट चन्द्र अर्याल प्रमुख र नेपाली कांग्रेसबाट धनबहादुर कायत ‘कल्याण’ उपप्रमुखमा उम्मेदवार बनेका छन्। निसीखोला गाउँपालिकामा नेपाली कांग्रेसका सूर्यबहादुर घर्तीले अध्यक्ष र माओवादी केन्द्रका प्रेम घर्तीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट जोकलाल बुढा अध्यक्ष र नेकपा (एकीकृत समाजवादी)बाट तारानाथ श्रीपाली उपाध्यक्षको उम्मेदवार बनेका छन् । यस्तै, बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाबाट कृष्ण पौडेल अध्यक्ष र नेपाली कांग्रेसका दिलीप पुन उपाध्यक्षको उम्मेदवार छन्। ताराखोला गाउँपालिकामा माओवादी केन्द्रका धनबहादुर विक ‘हिमाल’ले अध्यक्ष र नेपाली कांग्रेसका भीमबहादुर रोकाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

काठेखोला गाउँपालिकामा नेपाली कांग्रेसका राजु थापा अध्यक्ष र राष्ट्रिय जनमोर्चाका तिलक पुन उपाध्यक्षको उम्मेदवार छन्। बडिगाड गाउँपालिकामा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा राष्ट्रिय जनमोर्चाका भीमसेन वनले उपाध्यक्षमा उम्मेदवारी दिनुएका छन्।

यसरी सत्ता गठबन्धन दलका तर्फबाट १० स्थानीय तहका २० प्रमुख/उपप्रमुख पदमा १९ जना त पुरुष उम्मेदवार मात्र चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । त्यस गठबन्धनबाट स्थानीय तहको प्रमुखमा एक्ली महिला उम्मेदवारका रुपमा रहेकी अधिकारीलाई भने नेपाली कांग्रेसले पुनः टिकट दिएर उम्मेदवार बनाएको हो । उनी विसं २०७४ को चुनावमा नेकपा (एमाले)का मेहरसिंह पाइजासँग बडिगाड गाउँपालिकाको अध्यक्षमा पराजित भएकी थिइन्।

यता पाँचदलीय गठबन्धनको सामना गरिरहेको नेकपा (एमाले)ले भने नौ स्थानीय तहको उपप्रमुखमा महिला उम्मेदवारलाई उठाएको सो पार्टीका प्रचार विभाग प्रमुख गणेश पौडेल ‘चन्द्र’ले जानकारी दिए। राप्रपासँग तालमेलका कारण बागलुङ नगरपालिकाको उपप्रमुखमा भने एमालेको उम्मेदवार छैन । एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका सञ्जय खड्का उपप्रमुखको उम्मेदवार बनेका छन् ।

यहाँ पनि गठबन्धन नै कारण उपप्रमुखमा महिलाको उम्मेदवारी नपरेको हो । एक्लै चुनावमा जाने हकमा एमाले पवित्रा रोकालाई उपप्रमुखको उम्मेदवार बनाउने तयारीमा थियो । एमालेले जैमिनी नगरपालिकाको प्रमुखमा लीला राना, उपप्रमुखमा उषा पौडेल, बडिगाड गाउँपालिकाको अध्यक्ष राजन पाइजा, उपाध्यक्षमा मीना रायमाझी, काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की, उपाध्यक्षमा कोपिला पुनलाई उम्मेदवार बनाएको छ ।

यस्तै एमालेबाट बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदीप थापा र उपाध्यक्षमा दुर्गा कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। ढोरपाटन नगरपालिकाको प्रमुखमा देवकुमार नेपाली र उपप्रमुखमा करमती पुन उम्मेदवार बनेकी छन्। ढोरपाटनमा यसअघिका प्रमुख/उप्रमुख दुवैलाई एमालेले दोहो¥याएको हो ।

एमालेले तमानखोला गाउँपालिकामा देवेन्द्र छन्त्याल अध्यक्ष, टेकमती विक उपाध्यक्ष, ताराखोला गाउँपालिकाको अध्यक्षमा ऋषिराम रोका, उपाध्यक्षमा थममाया घर्ती र गलकोट नगरपालिकाको प्रमुखमा पूर्ण काउचा र उपप्रमुखमा रुपा विकलाई उम्मेदवार बनाएको छ ।

निसीखोला गाउँपालिकामा एमालेबाट भूमिराज घिमिरे अध्यक्ष र भोटु चन्द उपाध्यक्षको उम्मेदवार बनेका छन्। केही साना दल र स्वतन्त्रबाट पनि महिलाहरुले मुख्य पदमा उम्मेदवारी दिएका छन् । नेकपा (माले)का तर्फबाट मञ्जु क्षेत्री र नेपाली कांग्रेस (विपी)बाट धना आचार्यले बागलुङ नगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसले टिकट नपत्याएपछि गलकोट नगरपालिकाको प्रमुखमा मञ्जु शर्मा चालिसेले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएकी छन्। कांग्रेसले पहिलेका नगरप्रमुख भरत शर्मा गैरेलाई पुनः उम्मेदवार बनाएपछि महिलाबाट गलकोटको प्रमुखमा दाबी गरिरहेका चालिसे, नगर उपप्रमुख रेणुका काउचालगायत पछि परेका छन् । 

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.