www.tandavnews.com
Fact ~ In search of truth

मनकारी मिनबहादुरको माछापुच्छ्रे हाँक्ने हुटहुटी

माछापुच्छ्रे
ताण्डव न्यूज ।

कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले मिनबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । मनकारी छवि बनाएका मिनबहादुरलाई पालिकावासीले समाजसेवीको रुपमा पनि चित्रित गर्छन् ।

असल सामाजिक व्यक्तित्व, विभेदरहित व्यवहार र शालिन प्रस्तुती भएकै कारण उनलाई गाउँपालिका अध्यक्षका लागि टिकट दिइएको पार्टी वृत्तमा चर्चा हुने गरेको छ ।

Batas

कास्की क्षेत्र नं ३ तरुण दलको सभापति भएर युवाको सफल नेतृत्व गरिसकेका मिनबहादुरलाई गाउँपालिकामा भूगोल अनुरुपको विकास र समृद्धि ल्याउने हुटहुटी छ । उनि भन्छन्,‘महत्वकांक्षी योजनाहरुमा समय खेर फाल्ने मनसाय मेरो छैन । पालिकावासीले प्रत्यक्ष अनुभुत गर्ने र कार्यकालमा सक्ने योजनाहरु छन् ।’

विशेषतः शिक्षा, स्वास्थ्य,कृषि र पर्यटनमा गाउँपालिकालाई अब्बल बनाउने उनले बताए ।

शिक्षा नै सर्वोपरी भएको जनाउँदै उनले भने,‘हामीले हालसम्म सञ्चालनमा रहेका सरकारी विद्यालयलाई थप स्तरोन्नती गर्ने योजना बनाएका छौँ । अहिले १० कक्षासम्म सञ्चालन भइरहेका हरेक विद्यालयलाई थप व्यवस्थित गर्दै प्लस टू तहसम्म सञ्चालनमा ल्याउनेछौँ ।’ माध्यमिक तह सम्मका हरेक विद्यालयमा स्टाफ नर्सको व्यवस्था गर्दै विद्यार्थीको स्वास्थ्य प्रोफाइलको काम अघि बढाउने उनको भनाई छ ।

गाउँपालिकामा ६० वर्ष माथीका वृद्धवृद्धाको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा निशुल्क गर्ने उनको योजना छ । ४० वर्ष माथिकालाई प्रत्येक ६ महिनामा निशुल्क मधुमेह परिक्षणसँगै प्रत्येक वडामा ‘गाउँपालिका अध्यक्ष/उपाध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

‘स्वास्थ्य नै धन हो भनिन्छ नि ।हो, हामी यो कुरामा पनि संवेदनशिल छौँ । पालिकाका प्रत्येक स्वास्थ्य संस्थामा बेसिक इमर्जेन्सी अब्सट्रेटिक केयर सुरु गराइहाल्छौँ । महिलाहरुको हकमा पाठेघरको क्यान्सरको खोजड्ताल गरि उपचारको व्यवस्था गर्छौँ’, उनले भने ।

माछापुच्छ्रे गाउँपालिका कृषिका लागि उर्वर भूमी हो । पालिकावासीलाई कृषिमा आकर्षण गर्नेगरी पकेट क्षेत्र बनाएर विशेष प्याकेज ल्याउने उम्मेदवार मिनबहादुरको योजना छ ।कृषिलाई थप आधुनीकिकरण गर्दै एग्रो टुरिज्मको अवधारणा अघि बढाइने उनले बताए ।

नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिकाका वर्तमान उपसभापति समेत रहेका मिनबहादुर पालिकाको आर्थिक समृद्धिका लागि पर्यटनलाई थप उचाइमा पुर्याउन विविध योजना तयार रहेको जनाए । ‘पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि यहाँ केही हुन सकिरहेको छैन । ठोस कार्ययोजना बन्न सकेन । हामी ठोस व्यवहारीक योजनासहित अघि बढ्छौँ’, उनले सुनाए ।

माछापुच्छ्रे नमुना पैदल मार्ग र मार्दी हिमाल पदयात्रालाई जोडेर पर्यटकको बसाई लम्ब्याउँदै स्थानीय जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने गरि विकास गर्ने उनको योजना छ । भन्छन्‘अझै पनि माछापुच्छ्रे नमुना पैदल मार्गको प्रचारप्रसार अभाव छ । हामीले माछापुच्छ«े र मार्दी पदयात्रालाई जोड्यौँ भने पर्यटकको बसाई लम्बिनेमा दुई मत छैन । त्यति मात्र होइन, क्यानोइङ, रक क्लाइम्बिङ, प्याराग्लाडिङ लगायतका साहसिक पर्यटकिय गतिविधिलाई पनि थप चलायमान बनाइने छ ।’

पर्यटनसँगै जोडिएको होमस्टे लाई थप प्रवद्र्धन र प्रचारप्रसार गर्दै स्थानिय उत्पादन खपत हुनेगरी कार्ययोजना अघि बढाउने उनको भनाई छ ।

पर्वतारोहण पारखीको ध्यान केन्द्रित हुनेगरी अन्तर्राष्ट्रिय स्तरको ‘पर्वतारोहण अध्ययन केन्द्र’ सञ्चालनमा ल्याउने उनको दाबी छ । मार्दी हिमाल ट्रेकका व्यवसायीहरुकालागि गाउँपालिकाले अभिभावकत्व लिँदै थप व्यवस्थित त संरक्षण गर्ने आफ्नो योजना रहेको मिनबहादुरले सुनाए ।

उनले ग्रामीण सडकहरुलाई स्तरोन्नती गर्दै आवश्यक क्षेत्रहरुमा नयाँ ट्रयाक खोलिने उल्लेख गरे । पालिकाका सबै क्षेत्रलाई सडक सम्पर्कमा ल्याउने उनको योजना छ ।

माछापुच्छ्रे गाउँपालिकामा रहेका बालुवा, गिट्टी, ढुङ्गा लगायतका खानीहरुलाई नीति अनुरुप कडाई एवं व्यवस्थित गरिने उनको भनाई छ ।

यस्तै खानेपानीका लागि तत्काल कार्यान्वयनमा लैजाने गरि विविध योजना तयार गरिएको उनको दाबी छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.