www.tandavnews.com
Fact ~ In search of truth

निर्वाचनमा आफ्नो भोट सुरक्षित नहुने चिन्ता

पोखरा।

निर्वाचनको मतपत्र अपाङ्गतालाई लक्षित गरेर बनाईएको छैन । बैसाख ३० मा हुने स्थानीय निर्वाचनमा प्रयोग गरिने मतपत्र अपाङ्तामैत्री नहुँदा आफूहरुले समस्या खेप्नुपरेको अपाङ्गता भएका मतदाताहरुले गुनासो गरेका छन्।

आफूले रोजेको जनप्रतिनिधिलाई भोट दिन नपाउने वा निर्वाचनमा आफूले दिएको मत गोप्य नहुने उनीहरुको चिन्ता छ । स्थानीय चुनाव नजिकिँदै गर्दा दृष्टिविहिन रोजिना घिमिरेलाई पनि आफ्नो भोट सुरक्षित नहुँने चिन्ता छ । चुनावमा मतदानको प्रतीक्षामा रहेकी रोजिना सहयोगीले दिएको भोट सुरक्षित नहुने भन्दै चिन्ता व्यक्त गरिन् ।

Batas

रोजिनामात्र होईन दृष्टि विहिन शेरजंग गुरुङ, दण्डपाणी ढकाल, प्रेम नारायण भट्टराई, फडिन्द्र पौडेल र सुस्त श्रवण शक्तिप्रकास लामिछानेको पनि समस्या उस्तै छ । उनीहरु सबैलाई एउटै चिन्ता छ निर्वाचनमा आफूले दिएको मत सुरक्षित हुन्छ या हुँदैन ? पोखरामा शुक्रबार सरोकारवाला संघ संस्थाले संयुक्तरुपमा आयोजना गरेको अन्र्तक्रियाको क्रममा सहभागीहरुले आफ्नो भोटको सुरक्षा गर्न माग गरे ।

आउँदो स्थानीय चुनावमा प्रविधि युक्त भोटिङ मेसिन प्रयोग गर्न उनीहरुको माग छ । अर्को कुरा, दलहरुका निर्वाचन लक्षित घोषणापत्रहरु पनि अपाङ्गमैत्री छैनन् । ती घोषणापत्र हेरेर मत दिन पनि कठिन हुने गरेको उनीहरुको अनुभव छ । शारीरिक अंग वा प्रणालीमा भएको समस्या तथा कठिनाइका आधारमा दृष्टिसम्बन्धी अपांगता, शारीरिक अपांगता, सुनाइसम्बन्धी अपांगता, बौद्धिक अपांगता, बहुअपांगता, शारीरिक अपांगता, अटिजम, हेमोफिलिया, मनोसामाजिक र मानसिक गरी १० प्रकारमा वर्गीकरण गरिएको छ । मतदान स्थलमा यी सबै आ–आफ्नै किसिमका अवरोध झेल्न बाध्य हुने गरेको र आफूहरुलाई भोट बैँकका रुपमा मात्र दलहरुले प्रयोग गर्ने गरेको राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीका उपाध्यक्ष अन्जना केसीले बताईन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा दृष्टिविहीन, शारीरिक अशक्तता, अपांग वा आफैँ मतदान गर्न नसक्नेले एकाघरका परिवारका सदस्य वा मतदान अधिकृतको सहायतामा इच्छाएको मतपत्रमा मत संकेत गरिदिन सक्ने व्यवस्था छ । अपाङ्गहरुको अवस्थालाई मध्यनजर गरी ऐनमा व्यवस्था भए बमोजिम सहजीकरण गरिने निर्वाचन कार्यालय पोखराका प्रमुख हुमनाथ पराजुलीको भनाई छ । कार्यक्रममा बोल्दै पोखराको मेयर पदका उम्मेद्वार धनराज आचार्यले आफूहरु अपाङ्गतामैत्री निर्वाचनको पक्षमा रहेको बताए । त्यस्तै नेकपा एमालेका नेता तेजनारायण अधिकारीले एमालेले सम्पूर्ण अपाङ्गताको हक हितका लागि योजनाहरु लिएर निर्वाचनमा होमिएको दावी गरे ।

कार्यक्रममा शान्तिको लागि नागरिक समाजका पूर्व संयोजक विष्णु बराल, काँग्रेस कास्कीका सहसचिव नविन सिग्देल, मिडिया नेपालका गण्डकी संयोजक सूर्य वास्तोला लगायतले अपाङ्गताको मत अधिकार सुनिश्चित र गोप्य हुनुपर्ने विषयमा बोलेका थिए । निर्वाचन आयोगले अपांगताको भएका व्यक्तिका लागि छुट्टै मतपत्र भने बनाएको छैन ।

कास्कीमा कति अपांग छन् भन्ने निर्वाचन कार्यालयसँग तथ्यांक समेत नहुँदा समस्या भएको सरोकारवालाहरुले बताएका छन । अपाङ्गता स्वावलम्बन विकास संघ, अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक), ह्यूमिडिया र आईएनएफ नेपाल को संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.