www.tandavnews.com
Fact ~ In search of truth

पहिरोले मध्यपहाडी लोकमार्गको घोडाबाँधे गलकोट खण्ड अवरुद्ध

बलेवा।

वर्षासँगै आएको बाढीका कारण पहिरो खस्दा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको घोडाबाँधे गलकोट खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

बुधबार साँझ गलकोट क्षेत्रमा भीषण वर्षापछि लोकमार्गको उक्त खण्डमा दर्जन बढी पहिरो खसेका छन् । लोकमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी आवागमन रोकिएको छ भने सर्वसाधारणलाई पैदलयात्रा गर्नसमेत कठिन भएको स्थानीयवासीले बताए ।

बागलुङको गलकोट, बुर्तिबाङ, खर्वाङबाट काठमाडौँ, पोखरालगायतका सहरमा जाने लामो दूरीका सवारीसाधन रोकिएका छन् भने गलकोट, ढोरपाटन नगरपालिका र ताराखोला, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाबाट सदरमुकाम आउने सबै सवारीसाधन गलकोटमै रोकिएका छन् । काठमाडाैँ–पोखरालगायतका ठाउँबाट रुकुमपूर्वका लागि छुटेका सवारी घोडाबाँधेमा रोकिएको प्रहरीले जनाएको छ ।

बाढीपहिराले सडक क्षतविक्षत बनाएको हुँदा खुलाउन केही समय लाग्ने गलकोट नगर प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । त्यस्तै बाढी र पहिराका कारण गलकोटको नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका–२ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए।

बिहीबार साँझदेखि रातभर परेको भिषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको अध्यक्ष भण्डारीको भनाइ छ । बाढीको त्रासले स्थानीय रातभर जागराम बसेका छन् ।

नकटेखोलाको कटानले तटीय क्षेत्रका घरसमेत जोखिममा परेको उहाँले बताउनुभयो । बाढीले महेन्द्र माविको खेलमैदान पुरिएको र विद्यालयसमेत जोखिममा परेको उनले बताए। रातभर स्थानीयवासी र मेसिनको प्रयोग गरी बाढी तर्काउने कोसिस गरेको उहाँको भनाइ छ ।

रासस

–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.